कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ ।बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।
यो जितसँगै ६ खेलबाट ३ जित निकालेको विराटनगरले ६ अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । विराटनगरले प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ । उसले लिग चरणको अन्तिम खेल लुम्बिनी लायन्ससँग खेल्नेछ ।
अर्कोतर्फ, ६ खेलमा पाँचौँ हार बेहोरेको पोखरा २ अंकसहित अंकतालिकाको पुछारमा छ । यो हारसँगै पोखरा प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ ।
विराटनगरको जितमा बसिर अहमदले सर्वाधिक ३७ रन बनाए । उनले ३९ बलमा २ चौका र २ छक्का प्रहार गरे । ओपनर लोकेश बमले २७ बलमा समान २ चौका र २ छक्काको मद्दतमा ३३ रन जोडे ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १३२ रन बनाएको थियो ।
पोखराका ओपनर युवराज सिंह सम्राले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ८४ रन बनाए । उनले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे । धनञ्जय लक्षणले २२ र सन्नी विकले १२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
७६ रनमा ५ विकेट गुमाएको अवस्थामा युवराज र धनञ्जयले छैटौँ विकेटका लागि ४६ रनको साझेदारी गर्दै पोखराको इनिङ्स सम्हालेका थिए । धनञ्जयले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे । सन्नीले ११ बलमा १ छक्कासहित १२ रन बनाए ।
अर्जुन कुमाल १, अर्जुन घर्ती ५ र विपिन खत्री ५ रनमा आउट भए । कुशल भुर्तेल, रमेश मेन्डिस, कप्तान चमिका करुणारत्न र किरण ठगुन्नाले खाता खोल्न सकेनन् । सागर ढकाल १ रनमा अविजित रहे ।
पोखराको इनिङ्स ध्वस्त पार्ने क्रममा विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिए । उनले खेलको १५औँ ओभरमा लगातार तीन बलमा विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए । ओभरको तेस्रो, चौथो र पाँचौँ बलमा उनले विकेट लिएका हुन् ।
यससँगै सन्दीप एनपीएलमा ह्याट्रिक विकेट लिने तेस्रो खेलाडी बनेका छन् । यसअघि काठमान्डु गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक गरेका थिए ।
सन्दीपले यसअघिका पाँच खेलमा एक विकेट मात्रै लिएका थिए । तर, पोखराविरुद्ध एकै खेलमा ६ विकेट लिँदै उत्कृष्ट पुनरागमन गरेका छन् ।
उनी एनपीएलमा एकै खेलमा ६ विकेट लिने तेस्रो खेलाडीसमेत बनेका छन् । यसअघि शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोले एकै खेलमा ६ विकेट लिएका थिए ।विराटनगरका एन्जेलो म्याथ्युज, चरिथ असलंका र रुपेश सिंहले पनि एक–एक विकेट लिए ।
