स्वर्गद्वारी बजारक्षेत्रमा राति पनि उज्यालो

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

दिनभरि चहलपहल हुने प्यूठानको स्वर्गद्वारी नगरपालिकाको बजार क्षेत्र अब रातिमा पनि उज्यालो भएको छ । जस्पुर–भिंग्री सडकअन्तर्गत स्वर्गद्वारी नगरपालिकाको बजार क्षेत्रमा सडक बत्ती जडान गरिएपछि बजारको स्वरूप फेरिएको हो ।नगरपालिकाले वडा नं. ४ गोठीवाङदेखि वडा नं. ३ जलुकेसम्म ९० वटा पोलमा सडक बत्ती जडान गरेको छ । एक करोड सात लाख रुपियाँको लागतमा जडान गरिएका बत्तीले बजार क्षेत्रलाई रातिमा उज्यालो बनाएको छ ।

स्वर्गद्वारी मन्दिरमा दर्शन गर्न आउने तीर्थयात्री तथा पर्यटकको आवागमनलाई सहज बनाउनुका साथै सडक दुर्घटना न्यूनीकरण र बजारको सौन्दर्य बढाउने उद्देश्यले बत्ती जडान गरिएको नगरप्रमुख टेकप्रसाद भण्डारीले बताए  । वडा नं. ४ का अध्यक्ष सुवर्णराज श्रेष्ठका अनुसार सडक बत्ती जडानमा नेपाल विद्युत् प्राधिकरणको ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत लागत साझेदारी रहेको छ । सडकमा प्रत्येक ३५ मिटरको दूरीमा पोल राखेर बत्ती जडान गरिएको उनले जानकारी दिए  ।

बत्ती जडानसँगै रातिको समयमा सडकको उज्यालो बढेको छ । यसले सवारी आवागमन सुरक्षित बनाउनुका साथै बजार क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

जडान गरिएका बत्ती मोबाइल र सर्भर प्रणालीबाटै नियन्त्रण गर्न सकिने प्रविधियुक्त रहेको श्रेष्ठले बताए । आवश्यकताअनुसार प्रकाशको मात्रा घटाउन र बढाउन सकिने व्यवस्था पनि मिलाइएको छ । सडक बत्तीको सञ्चालन, व्यवस्थापन र विद्युत् महसुल भुक्तानीको जिम्मेवारी नगरपालिकाले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *