किशोरीको खोजी गर्न दबाब दिँदै दुहवीमा प्रदर्शन

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

किशोरी बेपत्ता भएको एक महिना बितिसक्दा पनि प्रहरीले खोजीमा प्रभावकारी कदम नचालेको भन्दै सुनसरीको दुहबीका स्थानीयले बुधबार विरोध प्रदर्शन गरेका छन्। उनीहरूले सडकमा चक्काजाम गर्दै किशोरीको खोजीका लागि दबाब दिएका हुन्।

दुहबी नगरपालिका–३ का रमेश यादवकी छोरीलाई दुहबी नगरपालिका–९ का २० वर्षीय फयाज हुसेनले गत कात्तिक ७ गते भगाएर लगेको भन्दै परिवारले भोलिपल्टै हुलियासहित किटानी जाहेरी दिएको थियो। तर, लामो समय बितिसक्दा पनि छोरीको अवस्था पत्ता नलागेको भन्दै परिवार र स्थानीयले तत्काल खोजी गर्न तथा न्याय दिन माग गर्दै प्रदर्शन गरेका हुन्।

किशोरीका परिवारले सुरुमा प्रहरी कार्यालयअगाडि प्रदर्शन गरेका थिए। त्यसपछि उनीहरूले केही समय कोशी राजमार्गअन्तर्गत दुहबी बजारमा चक्काजामसमेत गरेका थिए।

प्रहरीका अनुसार असोज पहिलो साता ती नाबालिग किशोरी फयाजसँग भागेकी थिइन्। पछि प्रहरीले उनलाई फेला पारेर अभिभावकको जिम्मा लगाएको थियो। अभिभावकको जिम्मा लगाएको एक महिनापछि उनी फेरि बेपत्ता भएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले किशोरीको खोजतलास भइरहेको बताए। उनका अनुसार प्रहरीले यस विषयमा मुद्दा दर्ता गरी अनुसन्धान तथा खोजी गरिरहेको छ। प्रहरीले बुधबार दिउँसो दुवै पक्षका अभिभावकलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर छलफलसमेत गरेको डीएसपी खड्काले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *