अमेरिकामा हिन्दु समुदायलाई लक्षित गर्दै ‘देश निकाला गर’ भन्दै प्रदर्शन, विवाद चर्कियो

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

अमेरिकाको सियाटलमा दीपावली उत्सवका क्रममा हिन्दु समुदायलाई लक्षित गर्दै घृणापूर्ण नारा र प्लेकार्ड प्रदर्शन भएपछि विवाद उत्पन्न भएको छ । दक्षिणपन्थी कार्यकर्ता जेक ल्याङ र थोमस एलेनले दीपावली कार्यक्रममा पुगेर ‘टीका लगाउने सबैलाई देश निकाला गर’ र ‘इसाईहरूको हिन्दु प्रतिस्थापन रोक’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उक्त प्रदर्शनप्रति अमेरिकी सांसद प्रमिला जयपालले कडा विरोध जनाएकी छन् । डेमोक्रेटिक पार्टीकी सांसद जयपालले पत्रकार जोनाथन चोले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियो पुनः पोस्ट गर्दै घटनाको निन्दा गरेकी हुन् ।

उनले उक्त गतिविधिलाई घृणित र जातिवादी प्रदर्शनको संज्ञा दिँदै हिन्दु समुदायले कुनै डरबिना सुरक्षित रूपमा दीपावली मनाउन पाउनुपर्ने बताएकी छन् ।

जयपालले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म यो घृणित र जातिवादी प्रदर्शनबाट अत्यन्तै आक्रोशित छु । दीपावली महत्त्वपूर्ण पर्व हो र हाम्रो समुदायले यसलाई मनाउँदा सुरक्षित महसुस गर्न पाउनुपर्छ । यस्तो घृणित प्रदर्शनका लागि हाम्रो सहर वा यो देशमा कुनै ठाउँ छैन ।’

भारतीय मूलका अमेरिकी व्यापारी अजय जैन भुटोरियाले पनि घटनाको आलोचना गरेका छन् । उनले शान्तिपूर्ण रूपमा दीपावली मनाइरहेका समुदायलाई लक्षित गर्दै गरिएको प्रदर्शनलाई ‘विशुद्ध घृणा र कट्टरता’ को संज्ञा दिएका छन् ।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सियाटलमा शान्तिपूर्ण रूपमा दीपावली मनाइरहेका बेला जेक ल्याङ र थोमस एलेनले ‘सबै डटहेडहरूलाई देश निकाला गर’ र ‘इसाईहरूको हिन्दु प्रतिस्थापन रोक’ लेखिएका प्लेकार्ड प्रदर्शन गर्नु विशुद्ध घृणा र कट्टरता हो ।’

भुटोरियाले दीपावली प्रकाश, परिवार र खुसीको पर्व भएको उल्लेख गर्दै यसलाई धम्की र घृणा फैलाउने माध्यम बनाउन नहुने बताएका छन् । जातीय गाली र घृणापूर्ण अभिव्यक्तिमार्फत हिन्दु अमेरिकी तथा भारतीय आप्रवासीलाई लक्षित गर्ने गतिविधिका लागि अमेरिकामा कुनै ठाउँ नभएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *