दसौं राष्ट्रिय खेलकुदः पौडीमा दुई राष्ट्रिय कीर्तिमान

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नेपालगन्जमा सुरु दसौं राष्ट्रिय खेलकुदको पौडी प्रतियोगितामा पहिलो दिन दुई खेलाडीले राष्ट्रिय कीर्तिमान बनाएका छन् । नेपालगन्ज रंगशालामा सम्पन्न पुरुष ५० मिटर ब्रेस्ट स्ट्रोकमा कोशी प्रदेशका विकास कुमालले ३०.६४ सेकेन्डको कीर्तिमान बनाए । यसअघि उनले सन् २०२६ मा भएको ११औं एनएसए कप पौडीमा ३०.६६ सेकेन्डको कीर्तिमान बनाएका थिए ।

महिला ४०० मिटर व्यक्तिगत मिड्लेमा एनआरएनकी लिली बोहराले १० वर्षअघिको कीर्तिमान तोडिन् । उनले ५ मिनेट १७.०१ सेकेन्डको कीर्तिमान बनाएकी छन् । भारतको गुवाहाटीमा सन् २०१६ मा भएको १२ औं सागमा सोफिया शाहले ५ मिनेट ४८.५४ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् । सोफियाको कीर्तिमान हिट चरणमै लिली र त्रिभुवन आर्मी क्लबकी डुवाना लामा दुवैले भंग गरेका थिए ।

लिलीले ५ मिनेट २१.५२ सेकेन्ड र डुवानाले ५ मिनेट २५.१७ सेकेन्डमा दुरी पार गरेका थिए । तर, लिलीको नाममा ५ मिनेट १७.०१ सेकेन्डको राष्ट्रिय कीर्तिमान स्थापित भयो । उनले यही समयबाट स्वर्ण जितिन् । यस इभेन्टमा डुवानाले रजत (५ मिनेट ३३.३९ सेकेन्ड) र पुलिसकी देवान्सी जोशीले (६ मिनेट ४२ सेकेन्ड) कांस्य पदक जिते ।

नेपालगन्जस्थित पौडी पोखरीमा बागमती प्रदेशले सर्वाधिक ४ स्वर्ण, २ रजत र ३ कांस्य पदक जित्दै अग्रता लिएको छ । एनआरएनए टिमले ३ स्वर्ण र १ रजतसहित दोस्रो स्थान तथा आर्मीले २ स्वर्ण, ४ रजत र १ कांस्यसहित तेस्रो स्थानमा ओगटेका छन् । पुलिसले १ स्वर्ण, २ रजत र ६ कांस्यसहित चौथो, १ स्वर्णसहित कोशी प्रदेश पाँचौं र २ रजत जितेको सुदुरपश्चिम छैटौ स्थानमा छन् ।

मंगलबारै १५ सय मिटर फ्रिस्टाइलमा नेपाल पुलिस क्लबका मयोन श्रेष्ठले स्वर्ण (१७ मिनेट.४८.६१ सेकेन्ड), सुदूरपश्चिमका अर्थव सिंहले रजत (१८ मिनेट ०६.९४ सेकेन्ड) र पुलिसकै रचित बुढाथोकीले कांस्य (१९ मिनेट ५५.६० सेकेन्ड) पदक जिते ।

५० मिटर पुरुष ब्रेस्टस्ट्रोकमा कोशीका विकास कुमालले स्वर्ण (३०.६४ सेकेन्ड), आर्मीका जाडेन श्रेष्ठले रजत (३१.१३ सेकेन्ड) र पुलिसका इर्भिन श्रेष्ठले (३१.६० सेकेन्ड) ले कांस्य पदक जिते । सोही इभेन्टको महिलातर्फ डुवानाले स्वर्ण (३६.२५सेकेन्ड), बागमतीकी रोयल प्रजापतिले रजत (३७.२२ सेकेन्ड) र बागमतीकै प्राज्ना ताम्राकारले कांस्य (३८.७० सेकेन्ड) पिदक जितेका थिए । १०० मिटर फ्रिस्टाइलमा बागमतीका अभिव प्रधान ( ५३.०३ सेकेन्ड) ले स्वर्ण, पुलिसका इर्भिन (५४.६२ सेकेन्ड) रजत र आर्मीका एल्भिन महर्जन (५४.९३ सेकेन्ड) ले कांस्य जिते । सोही इभेन्टको महिलातर्फ एनआरएनएकी मिखाकाया थापाले स्वर्ण (१ मिनेट ०२.९३ सेकेन्ड), आर्मीकी डुवानाले रजत (१ मिनेट ०३.०४ सेकेन्ड) र एनआरएनएकी लिलीले कांस्य (१ मिनेट ०४.०१ सेकेन्ड) जितेका थिए ।

२ सय मिटर ब्रेस्टस्ट्रोकमा बागमतीका अभिवले स्वर्ण (२ मिनेट २०.६५ सेकेन्ड), सुदूरपश्चिमका अर्थव सिंहले रजत (२ मिनेट २३.३० सेकेन्ड) र वागमतीका रिभान्तबहादुर श्रेष्ठले कास्य (२ मिनेट २८.०३ सेकेन्ड) जिते । सोही इभेन्टमा एनआरएनएकी मिखाले स्वर्ण (२ मिनेट ३९.६४ सेकेन्ड), पुलिसकी देवान्सीले रजत (२ मिनेट ४०.७२ सेकेन्ड) र बागमतीकी आर्या महर्जनले कांस्य (२ मिनेट ४०.७७ सेकेन्ड) जितेका थिए ।

४ गुणा १०० मिटर पुरुष मिड्ले रिलेमा आर्मीले स्वर्ण (४ मिनेट १३.०६ सेकेन्ड), बागमतीले रजत (४ मिनेट १९.६४ सेकेन्ड) र पुलिसले कांस्य (४ मिनेट २०.१५ मिनेट) पदक जितेको थियो । महिला ४ गुणा ५० मिटर फ्रिस्टाइल रिलेमा बागमतीले २ मिनेट ०१.३० सेकेन्डबाट स्वर्ण जित्यो । आर्मी (२ मिनेट ०२.६३ सेकेन्ड) र पुलिस (२ मिनेट ०५.२६ सेकेन्ड) बाट रजत र कांस्य जित्न सफल भयो ।

मिक्स ४ गुणा ५० मिटर फ्रिस्टाइल रिलेमा बागमतीले १ मिनेट ५०.२७ सेकेन्डबाट स्वर्ण जित्दा आर्मीले रजत (१ मिनेट ५१.४६ सेकेन्ड) र पुलिसले कांस्य (१ मिनेट ५३.१३ सेकेन्ड) जितेका थिए । नेपालगन्ज रंगशालामा चार दिन चल्ने प्रतियोगिताको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले गरेका थिए । मंगलबार पदक जितेका खेलाडीलाई नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठलगायतले प्रदान गरे ।

प्रतियोगितामा पदक जित्ने खेलाडीले पाकिस्तानमा हुने दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने संघले जनाएको छ । सातै प्रदेश, विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) सहित ११ टोलीका करिब २ सय खेलाडीले प्रतिस्पर्धामा छन् । प्राविधिक निर्देशक विष्णु खड्काका अनुसार प्रतियोगितामा ४६ विधामा प्रतिस्पर्धा हुनेछ । त्यसमध्ये ३४ व्यक्तिगत र १२ टिम स्पर्धा छन् ।

प्रतियोगिता सञ्चालन र प्राविधिक पक्षलाई प्रभावकारी बनाउन नेपाल पौडी संघ र नेपालगन्ज स्विमिङ क्लबले समन्वय गरिरहेका छन् । प्राविधिक निर्देशक खड्काले यस पटक पौडी पोखरीमा अत्याधुनिक कोलोराडो टाइमिङ सिस्टमसहितको स्विमिङ टचप्याड जडान गरिएको जानकारी दिए । यसले खेलाडीले पूरा गरेको समयमापनलाई थप सटिक र विश्वसनीय बनाउने उनको दाबी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *