उग्रतारामा आज भव्य मेला लाग्दै

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज ‘दिउसेडी’ मेला लाग्दैछ। उग्रतारा क्षेत्र विकास समितिका अनुसार आज मेला लाग्दैछ।

स्थानीय भाषामा ‘देहिजाँत’ भनिने यो मेला हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको राति र भोलिपल्ट लाग्ने गर्छ। राति लाग्ने मेलालाई ‘रतेडी’ र दिनमा लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ।

अमरगढी नगरपालिका–८ स्थित उग्रतारा भगवती मन्दिरमा खनमडा, छचोडा, दुमडा र जिलोडा गाउँका बासिन्दाले परम्परागत रूपमा पूजा गरेपछि मेला सुरु हुने उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए।

मेलामा सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै छिमेकी भारतबाट समेत भक्तजन आउने गरेका छन्।

डडेल्धुरा सदरमुकामबाट करिब चार किलोमिटर टाढा सुन्दर डाँडामा अवस्थित मन्दिरमा हजारौँ भक्तजन दर्शन तथा पूजाआराधना गर्न पुग्छन्।

किंवदन्तीअनुसार परापूर्वकालमा स्थानीय साकी जातिका किसानले हलो जोत्ने क्रममा शिलामा चोट लाग्दा रगत बगेको थियो।

किसानले त्यस ठाउँमा खान ल्याएको खिचडीले रगत रोकिएपछि देवी प्रकट भएको विश्वास गरिन्छ। सोही घटनापछि मन्दिर स्थापना गरी कात्तिक शुक्ल पूर्णिमामा पूजा तथा मेला लगाउने परम्परा सुरु भएको जनविश्वास छ।

स्थानीय उत्पादनको बिक्री तथा प्रवर्द्धनका लागि पनि मेला प्रसिद्ध छ। मेलाका अवसरमा अमरगढी नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *