दक्षिण कोरियाको हवाई रक्षा क्षेत्रमा रूसी विमान उडेपछि बासिन्दालाई सुरक्षित स्थानमा जान आदेश

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि स्वास्थ्य

दक्षिण कोरियाको हवाई रक्षा पहिचान क्षेत्रमा मंगलबार धेरै रूसी सैन्य विमान प्रवेश गरेपछि एक टापुका बासिन्दालाई सुरक्षित स्थानमा जान आदेश दिइएको छ।

तर, रूसी विमानले दक्षिण कोरियाको वास्तविक हवाई क्षेत्र उल्लंघन नगरेको त्यहाँको सेनाले स्पष्ट पारेको छ।

कोरियाली प्रायद्वीप र जापानबिचको समुद्री क्षेत्रमा रूसी विमान उडेपछि दक्षिण कोरियामा सुरक्षा सतर्कता अपनाइएको थियो। सुरुमा सरकारी निकायले विदेशी विमानले दक्षिण कोरियाको हवाई क्षेत्र उल्लंघन गरेको भन्दै सूचना जारी गरेका थिए। ती विमान रूसी वा उत्तर कोरियाली हुन सक्ने आशंकासमेत गरिएको थियो।

तर, दक्षिण कोरियाली सेनाको संयुक्त प्रमुखको कार्यालयले पछि उक्त विवरण सच्याउँदै विमानले देशको क्षेत्रीय हवाई क्षेत्र उल्लंघन नगरेको जनाएको छ। विमानहरू हवाई रक्षा पहिचान क्षेत्रमा मात्र प्रवेश गरेका थिए।

यसैबिच, सुरक्षा मन्त्रालयले बिहान ७ः५२ बजे उल्लेउङ टापुका बासिन्दालाई भूमिगत संरचना वा भवनभित्र सुरक्षित स्थानमा जान आदेश दिएको थियो। तर, विमानहरू खतरा क्षेत्रबाट बाहिरिएको भन्दै तीन मिनेटपछि नै उक्त आदेश फिर्ता लिइएको थियो।

दक्षिण कोरियाली सेनाले रूसी विमान फर्किनुअघि सम्भावित जोखिमको सामना गर्न लडाकु विमान परिचालन गरेको जनाएको छ। यद्यपि, सेनाले कति वटा रूसी विमान देखिएको थियो र ती कुन प्रकारका थिए भन्नेबारे तत्काल जानकारी दिएको छैन।

करिब नौ हजार जनसंख्या रहेको उल्लेउङ टापुमा यस घटनाबाट कुनै दुर्घटना वा ठूलो अवरोध भएको खबर आएको छैन।

यसअघि सन् २०२२ मा उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा तनाव बढिरहेका बेला समुद्रमा २० वटाभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो। तीमध्ये एउटा क्षेप्यास्त्र उल्लेउङ टापुतर्फ गएपछि त्यहाँ हवाई आक्रमणको साइरन बजाइएको थियो। त्यसपछि बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको थियो।

यो घटना दक्षिण कोरियाले गत सोमबार पनि आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य विमानलाई हटाउन लडाकु विमान परिचालन गरेको एक सातापछि भएको हो।

यसैगरी, जापानले पनि सोही दिन आफ्नो दक्षिणपश्चिमी तट नजिक दुई संदिग्ध रूसी विमान आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको भन्दै मस्कोसँग विरोध जनाएको थियो। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *