नेपालका चिकित्सकले २८ वर्षीय एक युवतीमा विश्वमै अत्यन्त दुर्लभ मानिने ‘क्रोनकाइट क्यानडा सिन्ड्रोम’ (सिसिएस) सँग मिल्दोजुल्दो स्वास्थ्य समस्या पहिचान गरेका छन् ।
सामान्यतया ५० वर्ष उमेर नाघेका व्यक्तिमा मात्र देखिने यो रोग कम उमेरकी युवतीमा देखिनुका साथै गिजा सुन्निने (जिन्जिभल हाइपरप्लासिया) नयाँ लक्षणसमेत फेला परेको चिकित्सकको अध्ययनले देखाएको छ ।
नेप्लिज सोसाइटी अफ ग्यास्ट्रोएन्टेरोलोजिस्ट्सको जर्नल (जेएनएसजी) मा हालै प्रकाशित केस रिपोर्ट अनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका डा. मोहन भुसाल, ग्यास्ट्रो सेन्टर बुटवलका डा. उपेन्द्र पौडेल र नर्भिक इन्टरनेसनल अस्पताल काठमाडौँका डा. सन्दीपराज कुँवरको टोलीले उक्त अध्ययन गरेका हुन ।
अध्ययनमा सहभागी डा. उपेन्द्र पौडेलले क्रोनकाइट–क्यानडा सिन्ड्रोम (सिसिएस) जस्तो अत्यन्त दुर्लभ रोगको पहिचान गर्न बिरामीमा देखिने लक्षणसँगै इन्डोस्कोपी र तन्तुको सूक्ष्म परीक्षण महत्वपूर्ण हुने जानकारी दिए ।
डा. उपेन्द्र पौडेलले सामान्यतया बढी उमेरका व्यक्तिमा देखिने यो रोग कम उमेरका व्यक्तिमा पनि देखिन सक्ने भएकाले लामो समयसम्म पखाला लाग्ने र तौल घट्ने समस्या भएका बिरामीको उपचारमा विशेष सावधानी अपनाउनुपर्ने बताए ।
अध्ययन अनुसार ती युवती तीन महिनादेखि लगातार पखाला लाग्ने र करिब पाँच किलोग्राम तौल घट्ने समस्या लिएर उपचारका लागि पुगेकी थिइन् । दिसामा रगत नदेखिए पनि लामो समयसम्म पखाला लागिरहेपछि उनको थप परीक्षण गरिएको थियो ।
डा. पौडेलका अनुसार ग्यास्ट्रोस्कोपी र कोलोनोस्कोपी गर्दा आमाशय, सानो आन्द्राको सुरुवाती भाग (ड्युओडेनम) र ठुलो आन्द्राका विभिन्न भागमा धेरै सङ्ख्यामा मासुका डल्ला अर्थात् पोलिप पलाएको देखिएको थियो । पोलिपको नमुना लिएर गरिएको बायोप्सी परीक्षणमा क्यान्सरका कोषिका नदेखिए पनि तन्तुको बनोटका आधारमा प्याथोलोजिस्टले क्रोनकाइट क्यानडा सिन्ड्रोमको सम्भावना औँल्याएका थिए ।
अध्ययनलाई अन्तिम निदानका रूपमा पुष्टि गर्न अन्य सम्भावित रोगबाट छुट्याएर थप मूल्याङ्कन आवश्यक रहेको अध्ययनमा उल्लेख छ । सन् १९५५ मा पहिलो पटक पहिचान गरिएको यो रोग पाचन प्रणालीमा असर गर्ने गैरवंशाणुगत रोग हो ।
यसमा आमाशय, सानो आन्द्रा र ठुलो आन्द्राको भित्री सतहमा असामान्य रूपमा धेरै पोलिप पलाउने गर्छन् । यसका कारण खानाबाट शरीरले आवश्यक पोषक तìव लिन नसक्ने, प्रोटिनको कमी हुने, कुपोषण र शरीरको तौल घट्ने समस्या हुन सक्छ ।
यो रोग सामान्यतया ५० वर्षभन्दा बढी उमेरका व्यक्तिमा देखिने गरेको छ । विश्वभर अहिलेसम्म पाँच सयभन्दा बढी बिरामीमा यसको अभिलेख रहेको र अधिकांश बिरामी जापानका रहेको विभिन्न अध्ययनले देखाएको छ ।
