बंगलादेशमा फेरि हिंसा मच्चीयाे

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

प्रतिबन्धित अवामी लिगले आह्वान गरेको एकदिने आमहड्तालका क्रममा छिमेकी मुलुक बंगलादेशमा हिंसा भड्किँदा जनजीवन त्रस्त बनेको छ । देशका विभिन्न १८ भन्दा बढी जिल्लाहरूमा एकैसाथ सुरु भएको आगजनी, तोडफोड, बम विस्फोट र हिंसात्मक झडपमा परी हालसम्म कम्तीमा चार जनाको ज्यान गइसकेको छ भने दर्जनौँ घाइते भएका छन् ।

यसैबीच बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले पूर्वप्रधानमन्त्री शेख हसिना र उनको पार्टी अवामी लिगमाथि देशलाई पुनः अस्थिर बनाउने ठूलो षड्यन्त्र रचेको आरोप लगाएका छन् । प्रधानमन्त्री रहमानले अवामी लिगका समर्थकहरूले अशान्ति फैलाउनका लागि योजनाबद्ध रूपमा हिंसा, हत्या र आगजनीको सहारा लिइरहेको बताउदै  बंगलादेशी जनता अब कुनै पनि हालतमा विगतको निरंकुशता र आतंकको राजनीतिमा फर्कन नचाहेको स्पष्ट पारे  ।

अवामी लिगले आफ्ना समर्थकहरूलाई सडकमा उत्रिन आह्वान गरेसँगै देशका विभिन्न भागमा भीषण हिंसा भड्किएको हो । देशका १८ जिल्लामा हिंसात्मक गतिविधिहरू फैलिइसकेका छन् । मंगलबार रातिदेखि नै विभिन्न स्थानमा बस, प्रहरी कार्यालय, बंगलादेश नेसनल पार्टी (बिएनपी) का कार्यकर्ताका घर, पार्टी कार्यालय तथा ग्रामीण बैंकका शाखाहरूमा लक्षित गरी अन्धधुन्द आक्रमण, तोडफोड र ककटेल बम विस्फोट गराइएको छ ।

विशेष गरी गोपालगञ्ज क्षेत्रमा हिंसाले भीषण रूप लिएको छ । त्यहाँ प्रदर्शनकारीहरूले राजमार्गहरूमा गुडिरहेका गाडीहरूमा आगजनी गर्नुका साथै ठूला–ठूला रूखहरू ढालेर सडक यातायात पूर्णरूपमा ठप्प पारेका छन् । सोही क्रममा प्रदर्शनकारीहरूले बिएनपी सांसद डा. केएम बाबरको स्वामित्वमा रहेको एक अस्पतालमा तोडफोड गरी आगजनी गरेका छन् ।

काशियानी भन्ने स्थानमा अवामी लिगका कार्यकर्ताहरूले ‘जय बंगला’ को नारा लगाउँदै बिएनपीको कार्यालय र ग्रामीण बैंकको शाखा तोडफोड गरेका छन् । त्यहाँ रहेको स्थानीय प्रहरी चौकीमाथि समेत आक्रमण भएपछि प्रहरी कर्मचारीहरू ज्यान जोगाउन चौकी छाडेर भाग्न बाध्य भएका थिए ।

यसैबीच, बंगलादेशका पूर्वमुख्य अन्तरिम सल्लाहकार नोबेल पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुसको चटगाउँस्थित पैतृक घरमासमेत उपद्रवीहरूले आगजनी गरेका छन् । सुरक्षा व्यवस्था कडा पारिएको दाबी गरिए तापनि युनुसको घरमा भएको आगजनीले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ ।

बिबिसी बाङ्लाका अनुसार नाराइलमा विरोध प्रदर्शनबाट फर्किंदै गरेका बिएनपीका दुईजना वरिष्ठ नेताहरूको आक्रमणमा परी हत्या भएको छ । प्रहरीले उक्त हत्याकाण्डमा प्रतिबन्धित अवामी लिगकै नेता तथा कार्यकर्ताहरूको प्रत्यक्ष संलग्नता रहेको पुष्टि गरेको छ ।

अवामी लिगका शीर्ष नेताहरू गिरफ्तार

देशभर तीव्र रूपमा फैलिरहेको अराजकता र हिंसालाई नियन्त्रणमा लिन सरकारले कडा कदम चालेको छ । गृह मन्त्रालयको निर्देशनपछि बंगलादेशका अति प्रभावित सात जिल्लाहरूमा करिब तीन हजार अर्धसैनिक बल (बोर्डर गार्ड बंगलादेश) तैनाथ गरिएको छ ।

अशान्ति र तोडफोड फैलाएको आरोपमा प्रहरीले अवामी लिगका कैयौँ शीर्ष नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरेको छ । गिरफ्तार हुनेहरूमा पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदसमेत हुनुहुन्छ । यसबाहेक ढाकाको प्रसिद्ध बैतुल मुकर्रम मस्जिदका पूर्वखतिव मुफ्ती रुहुल अमिनलाई ढाकाको बसुन्धरा आवासीय क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

ढाका प्रहरीका अनुसार हालसम्म अवामी लिग र उसका सहयोगी संगठनका कम्तीमा ७१ जनाभन्दा बढी कार्यकर्ताहरू लाई हिरासतमा लिइसकेको छ ।

सडकमा हिंसात्मक प्रदर्शन र बम विस्फोटका घटना बढेपछि देशको सार्वजनिक यातायात सेवा नराम्ररी प्रभावित भएको छ । ढाकाका पल्लबी, नारायणगञ्ज, मयमनसिंह र राजशाही क्षेत्रमा अज्ञात समूहले पाँचवटा यात्रुवाहक बस र एउटा ट्रकमा आगजनी गरेका छन् ।

राजधानी ढाकामा भएका विभिन्न झडपहरूमा परी कम्तीमा चार जना गम्भीर घाइते भएका छन् । सुरक्षा स्थितिलाई ध्यानमा राख्दै ढाका उच्च अदालतले देशका सम्पूर्ण सार्वजनिक विश्वविद्यालयहरूको स्नातक तहको प्रवेश परीक्षा आगामी डिसेम्बर ३१ सम्मका लागि स्थगित गर्न आदेश जारी गरेको छ ।

भारतमा रहेकी हसिनाको प्रत्यर्पण माग

प्रधानमन्त्री तारिक रहमानले अवामी लिगले स्वदेशमा अशान्ति फैलाउन सीमापारि रहेका आफ्ना ‘मालिकहरू’ को इसारामा काम गरिरहेको आरोप लगाएका छन्  । भारतको नाम सिधा नलिए तापनि उनको इसारा भारततर्फ नै लक्षित थियो । ‘सत्ताबाट लखेटिएपछि पार्टीका नेताहरू सीमापारि भागिसकेका छन् ।

उनीहरूले देश र जनताको हितलाई पूर्णरूपमा उपेक्षा गर्दै उतै बसेर आफ्ना मालिकहरूको स्वार्थ पूरा गरिरहेका छन्, ‘प्रधानमन्त्री रहमानले कडा शब्दमा भने , ‘देश छाडेर भागिसकेपछि पनि उनीहरूले पुनः आगजनी र हत्याको राजनीति सुरु गरेका छन् । पछाडिबाट जनतामाथि छुरा हान्ने काम भइरहेको छ । अब धेरै भयो, यी आतंककारी र हत्याराहरूलाई हामीले कडा र स्पष्ट जवाफ दिनुपर्छ ।’

७९ वर्षीया पूर्वप्रधानमन्त्री शेख हसिना सन् २०२४ अगस्ट ५ मा छात्रहरूको नेतृत्वमा भएको अभूतपूर्व जनविद्रोहका कारण सत्ताच्युत भएपछि भारत पलायन भएकि थिइन्। त्यसयता उनि  भारतमै शरण लिएर बसिरहेकी छन् ।

बंगलादेश सरकारले हसिनालाई स्वदेश फर्काएर कानुनी कारबाहीको दायरामा ल्याउन भारतसँग विद्यमान द्विपक्षीय प्रत्यर्पण सन्धिअनुसार औपचारिक माग दोहोर्‍याएको छ । हसिनाले डिसेम्बरमा बंगलादेश फर्कने योजना बनाएको भन्दै राहदानी जारी गर्न दिएको निवेदनलाई वर्तमान सरकारले अस्वीकार गरिदिएको थियो ।

सरकारको उक्त निर्णयको विरोधमा अवामी लिगले आमहड्तालको आह्वान गरेको हो । गत वर्ष बंगलादेशको विशेष न्यायाधिकरणले हसिनाविरुद्ध मानवताका विरुद्धको अपराध र प्रदर्शनकारीमाथि भएको बर्बर दमनको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको थियो । हसिनाले भने उक्त न्यायाधिकरणको निष्पक्षतामाथि प्रश्न उठाउँदै आफ्ना सबै अभियोगहरू अस्वीकार गर्दै आएकि छन् ।

हसिनाको पतनपछि बनेको अन्तरिम सरकारले अवामी लिगमाथि प्रतिबन्ध लगाएको थियो, जसलाई गत फेब्रुअरी १२ मा भएको आमनिर्वाचनमार्फत सत्तामा आएको प्रधानमन्त्री तारिक रहमान नेतृत्वको बिएनपी सरकारले पनि कायम राखेको छ ।

प्रधानमन्त्री रहमानले बिएनपीका सबै सांसदहरूलाई आफ्नो–आफ्नो निर्वाचन क्षेत्रमा फर्केर जनता र तल्लो तहका कार्यकर्ताहरूसँगै सडकमा उत्रिन र अवामी लिगका उपद्रवीहरूको डटेर सामना गर्न निर्देशन दिएका छन् । उनले केवल सरकारी प्रशासन र प्रहरीको भर नपरी जनप्रतिनिधिहरू आफैँ अगाडि बढेर शान्ति सुरक्षा कायम गर्न सक्रिय हुनुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *