म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा मंगलबार बिहान तीव्र गतिको चिसो हावाहुरी चल्दा जनजीवन प्रभावित भएको छ । गाउँपालिकाको विभिन्न बस्तीमा चलेको हावाहुरीले चार घरको छानो उडाउनुका साथै रुख ढालेर सडक अवरुद्ध बनाएको छ ।
हावाहुरीका कारण जनजीवन प्रभावित भएको छ । अन्नपूर्ण गाउँपालिकाको दाना, नारच्याङ, शिख, पाउद्वार, घार र खिवाङ क्षेत्रमा हावाहुरीले जनजीवन प्रभावित भएको पालिका उपाध्यक्ष दिवाकुमारी तिलिजाले बताइन । उनिका अनुसार हावाहुरीका कारण अन्नपूर्ण गाउँपालिका –६ काभ्रेमा तीन र नारच्याङमा एक घरको छानो उडाएको छ ।
रुख ढलेर भुरुङ–तातोपानीदेखि मान्द्रढुंगा जोड्ने सडकसमेत अवरुद्ध भएको छ । विभिन्न बस्तीमा विद्युत् सेवा पनि अवरुद्ध भएको पालिका उपाध्यक्ष तिलिजाले जानकारी दिइन्।
नारच्याङका स्थानीयवासी तेज गुरुङका अनुसार राति करिब ३ बजेदेखि सुरु भएको हावाहुरीको वेग निकै तीव्र रहेको थियो । अन्नपूर्ण गाउँपालिका –३ दानाका वडा सदस्य दुर्गादत्त सुवेदीले हावाहुरीका कारण सर्वसाधारणलाई घरबाहिर निस्कन कठिन भएको बताए ।
तीव्र हावाले कालीगण्डकी करिडोरको कच्ची सडक तथा नदी किनारको बगरबाट धुलो उडाउँदा आसपासका बस्ती धुलाम्मे भएका छन् । हावाहुरीका कारण बोटमा पाकेका सुन्तलासमेत झरेर क्षति पुगेको छ ।
सामान्यतया फागुनदेखि वैशाखसम्म चल्ने मुस्ताङी उत्तरी हावाहुरी यस वर्ष मंसिरमै सुरु भएको हो । मुस्ताङ र आसपासको हिमाली क्षेत्रमा तापक्रम घटेपछि उत्पन्न हुने चिसो हावा कालीगण्डकी नदीले बनाएको अन्नपूर्ण र धौलागिरि हिमालबिचको गहिरो गल्छी हुँदै दक्षिणतर्फ बहने गर्छ । साँघुरो गल्छीबाट तीव्र गतिमा तल झर्ने हावाका कारण दाना, नारच्याङ लगायत क्षेत्रमा बढी प्रभाव पर्ने गरेको छ ।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रमको असन्तुलन बढ्दै जाँदा उत्तरी हावाहुरी चल्ने समय परिवर्तन हुन थालेको स्थानीय गुरुङले बताउनुभयो । बेमौसममा चल्ने यस्ता हावाहुरीले कृषि बाली, सुन्तला खेती, विद्युत् प्रसारण लाइन तथा दैनिक जनजीवनमा असर गर्दैआएको छ ।
