अन्नपूर्ण प्रथमः साहसिक पदयात्रा र प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

हिमालको नजिक पुग्ने साहसिक यात्रा, चारैतिर देखिने सेताम्मे हिमश्रृङ्खला र मनै लोभ्याउने प्राकृतिक सुन्दरताले अन्नपूर्ण प्रथम क्षेत्रको पदयात्रालाई रोमाञ्चक र अविस्मरणीय बनाउँछ ।

यहाँ पुग्ने जोकोही प्रकृतिको अनुपम सौन्दर्यमा रमाउँदै हिमाली वातावरणसँग साक्षात्कार गर्न पाउँछन् । यो सिजनमा आन्तरिक पर्यटकका लागि अन्नपूर्ण पदयात्रा पहिलो रोजाईमा परेको छ ।

दसैंदेखि तिहार र मंसिरको पहिलो साता सम्म देशका विभिन्न स्थानहरूबाट पदयात्रका लागि दैनिक रुपमा दुई सयदेखि चार सयसम्म पर्यटकहरू आउने गरेका छन् ।

हुमखोलाबाट सुरु हुने मौरिस हर्जोग पदमार्गको यात्रामा बाटोभरि देखिने मनमोहक झरना, कलकल बग्दै गरेको मिस्त्रीखोला र वरिपरिको हरियालीले पदयात्रालाई थप रोमाञ्चक र अविस्मरणीय बनाउँछन् । प्राकृतिक सौन्दर्यले भरिएको यस पदमार्गको यात्रामा पाइला–पाइलामा प्रकृतिको अनुपम आकर्षण भेटिन्छ ।

चार हजार ५० मिटरको उचाइमा अन्नपूर्ण हिमालको काखमा अवस्थित सुन्दर पञ्चकुण्ड ताल र वरिपरि देखिने हिमश्रृङ्खलाको मनमोहक दृश्यले पदयात्राको सम्पूर्ण थकान बिर्साइदिन्छ । निलो रङमा टल्किएको विशाल ताल, त्यसको पृष्ठभूमिमा उभिएका सेताम्मे हिमाल र शान्त वातावरणले यहाँ पुग्ने जोकोहीलाई स्वर्गीय आनन्दको अनुभूति गराउँछ ।

पञ्चकुण्ड तालबाट थप एक घण्टाको पदयात्रापछि चार हजार एक सय ३० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ । आधार शिविरबाट अन्नपूर्ण प्रथम हिमाललाई नजिकैबाट नियाल्दा स्वर्गमा नै पुगेको अनुभूति भएको दाङबाट ४६ जनाको समुह लिएर आधार शिविर पुगेर फर्किनुभएका द लोटस ट्रेनिङ सेन्टरका सञ्चालक  निराजन क्षेत्रीले बताए ।

उनले भने ,‘‘छोटो दूरीको पदयात्रा पछि पुग्न सकिने आकर्षक पर्यटकीय गन्तव्य लाग्यो । पदमार्ग र आधार शिविरमा सञ्चारको सुविधा पु¥याउन आवश्यक छ । पर्यटकको सुविधाका लागि होटल तथा रेष्टुरेण्टहरूको क्षमता विस्तार गर्न सरोकारवाला निकायले ध्यान दिनुपर्ने देखिन्छ ।” हिमालले आफ्नै काखमा राखेजस्तो देखिने विशाल निलो ताल र चारैतिर फैलिएका हिमश्रृङ्खलाको दृश्यले साँच्चिकै स्वर्गमै आइपुगेको अनुभूति भएको उनले बताए  ।

असोजदेखि मङ्सिरको पहिला हप्ता सम्म करिब १० हजार आन्तरिक पर्यटक आधार शिविरको पदयात्रा गरेको मौरिस हर्जोग पदमार्गका अभियन्ता तथा स्थानीय पर्यटनकर्मी तेज गुरुङले बताए  ।

आधार शिविरमा सञ्चार तथा विद्युत्को सुविधा,पदमार्गका होटल तथा रेष्टुरेण्टको क्षमता विस्तार गर्नसकेमा अहिलेको भन्दा तेब्बर संख्यामा पर्यटक  आगमन वढ्ने अपेक्षा गरिएको उनले बताए  । सञ्चार र विद्युत् सेवा विस्तारका लागि आवश्यक पहल गरेपनि सम्बन्धित निकायबाट अझै सुनुवाई नभएको उनको गुनासो छ ।

पर्यटकको सुविधाका लागि साँधीखर्क, भुसकेट मेला, पञ्चकुण्ड ताल परिसरमा आश्रयस्थल निर्माण गरिएको छ । गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको सहयोगमा हुमखोला, फुतफुते झरना, गुफाफाट, भुसकेट र पञ्चकुुण्डमा खानेपानी र शौचालय लगायतका पर्यटकीय पूर्वाधार निर्माण गरिएको भएपनि अझै अपुग छन् । पदमार्ग तथा झोलुङ्गे पुलहरुको मर्मतसम्भार गरिएको छ ।

आधार शिविरमा पहिलो आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली सहयोगी सोनाम वाङ्चुक शेर्पाको सालिक राखिएको छ भने खुल्ला सङ्ग्रहालय स्थापना गरिएको छ । पहिलो आरोही मौरिस हर्जोगका नामबाट पदमार्गको नामाकरण गरिएको हो ।

नेपालमा ‘जेठो हिमाल’ भनेर चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदमार्ग’ अन्तर्गत नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म २० किलोमिटर सवारी साधनमा पुगेर त्यहाँबाट करिब २१ किलोमिटर पैदलमार्ग हुँदै दुईदिनको पदयात्रापछि अन्नपूर्ण आधार शिविरसम्म पुग्न सकिन्छ ।

पदमार्गमा रहेको फुतफुते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले पर्यटकको यात्रालाई थप रोमाञ्चक बनाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *