युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) को सदस्यताको बदलामा पूर्वी युक्रेनको डोनबास क्षेत्रबाट बाँकी सेना फिर्ता बोलाउने विषयमा अमेरिकी वार्ताकारहरूले विचार अघि सारेको बताएका छन्।
यद्यपि, अमेरिकाले जेलेन्स्कीको यो भनाइको औपचारिक पुष्टि गरेको छैन। एक अमेरिकी अधिकारीले बीबीसीसँग कुरा गर्दै धेरै विचारहरूमाथि छलफल जारी रहेको तर कुनै पनि अन्तिम सम्झौतामा दुवै पक्ष सहमत हुनुपर्ने बताएका छन्।
रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने अमेरिकी प्रयासस्वरूप अमेरिकी दूतहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता गरेपछि युक्रेनी राष्ट्रपतिको यस्तो टिप्पणी बाहिर आएको हो।
किभले लामो समयदेखि यो सैन्य गठबन्धनको सदस्यता खोजिरहेको भए तापनि अमेरिका र अन्य राष्ट्रहरूले विगतमा यसको विरोध गर्दै आएका थिए। उता रुसले भने आफ्नो सिमानामा अर्को नाटो सदस्य राष्ट्र अस्वीकार्य हुने अडान राख्दै आएको छ।
सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्ण स्तरको आक्रमण शुरू गरेको थियो। हाल औद्योगिक क्षेत्र दोनबासको अधिकांश भू-भाग रुसको नियन्त्रणमा छ। जेलेन्स्कीले युक्रेन आफ्नो सार्वभौम भूमि त्याग्न तयार नरहेको निरन्तर बताउँदै आएका छन्।
शनिबार राष्ट्रपतिको कार्यालयद्वारा सार्वजनिक गरिएको वक्तव्यमा जेलेन्स्कीले भनेका छन्, ‘अमेरिकीहरूले एउटा प्रश्न उठाए: ‘यदि युक्रेन नाटोमा सामेल भयो भने के हुन्छ? के युक्रेन दोनबासबाट पछि हट्छ?’ यो विषय पहिलोपटक उठेको हो।’
उनले सुरक्षा ग्यारेन्टी, युक्रेनी सेनामाथि कुनै बन्देज नलाग्ने र देश पुनर्निर्माणका लागि आवश्यक कोषको सुनिश्चिततासहितको ठोस प्रस्ताव आएमा आफूले त्यसलाई जनमतसङ्ग्रहमा लैजाने बताए।
अमेरिकी दूतहरू जारेड कुश्नर र स्टिभ विटकफले मस्कोमा पुटिनसँग एक चरणको वार्ता गरेपछि बिहीबार आयरल्यान्डको राजधानी डब्लिन पुगेर जेलेन्स्कीसँग भेटवार्ता गरेका थिए।
पुटिन र क्रेमलिन अधिकारीहरूका टिप्पणीहरूले युद्धबारे रुसको अडानमा कुनै परिवर्तन नआएको सङ्केत गर्छ। रुसले शान्ति सम्झौताको सर्तका रूपमा युक्रेनी सेनाको आकार सीमित गर्नुपर्ने, भू-भाग छाड्नुपर्ने र किभ तटस्थ बस्ने ग्यारेन्टी हुनुपर्ने प्रस्ताव राख्दै आएको छ। तर, यस्ता सर्तहरूले भविष्यमा हुन सक्ने आक्रमण रोक्ने क्षमता कमजोर बनाउने भन्दै युक्रेनले तिनलाई अस्वीकार गर्दै आएको छ।
अमेरिकाबाहेक अन्य नाटो सदस्य राष्ट्रहरू पनि युक्रेनलाई सदस्यता दिने विषयमा सशङ्कित छन् र युक्रेन स्वयम्ले पनि यसलाई अव्यावहारिक ठान्दै आएको बुझिन्छ। क्रेमलिनले त यसको कडा विरोध गर्दै आएको छ, जुन युद्ध सुरु हुनुको एउटा मुख्य कारणसमेत थियो।
अमेरिकी मध्यस्थकर्ताहरूले शान्तिका लागि किभले भू-भाग मात्र छाड्नुपर्ने विश्वास राखेको र जतिसक्दो चाँडो सम्झौता गर्न दबाब दिइरहेको जेलेन्स्कीले हालै बताएका थिए। युक्रेनले नाटोलाई नै आफ्नो एकमात्र भरपर्दो सुरक्षा कवच ठान्ने भएकाले जेलेन्स्कीले करिब बन्द भइसकेको बहसलाई पुनः ब्युँताउन यो विषय सार्वजनिक गरेको हुन सक्ने विश्लेषण गरिएको छ।
हाल रुसले क्राइमियासहित युक्रेनको करिब पाँचौँ हिस्सा भू-भाग कब्जा गरेको छ, जसमा दोनबास क्षेत्र बन्ने दोनेत्स्क र लुहान्स्कका अधिकांश भाग पर्छन्। रुसले सन् २०१४ मा गैरकानुनी रूपमा गाभेको क्राइमिया प्रायद्वीपका साथै रुसी सेनाले कब्जा गर्न बाँकी रहेका दोनबासका भागहरूमाथि पनि युक्रेनले नियन्त्रण नछाडेसम्म युद्धविराममा सहमत नहुने अडान दोहोर्याएको छ।
