नेपाली कांग्रेस देउवा समूहका नेता गुरु बरालले टिबेटियन ओरिजिनल ब्लड (टिओबी) र वर्तमान कांग्रेस नेतृत्व एउटै शक्ति केन्द्रबाट सञ्चालित भएको दाबी गरेका छन्।
देउवा कांग्रेसको गण्डकी अधिवेशनबारे जानकारी दिन शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बरालले टिओबी र गगन थापा नेतृत्वको कांग्रेस दुवै स्क्रिप्टेड प्लान सफल बनाउन अन्तर्राष्ट्रिय शक्ति केन्द्रबाट परिचालित भएको आरोप लगाएका हुन्।
‘यिनीहरू राष्ट्रलाई विध्वंश गर्नका लागि स्क्रिप्टेड प्लान नेपालमा लागू गर्नका लागि परिचालित भए। यो दुर्भाग्यपूर्ण हो’ उनले भने।
नेता बरालले अहिले पनि गगन कांग्रेस सरकारको रक्षक, सहयात्री र सहयोगीजस्तो बनेको टिप्पणी गरे। देशमा वितण्डा मच्चिँदा, राष्ट्रियता र सार्वभौमसत्तामाथि धावा बोल्दासमेत गगन कांग्रेस चुप लाग्नु त्यसैको परिणाम भएको उनको दाबी छ।
उनका अनुसार सत्ताधारी र गगन कांग्रेसले भदौ २३ र २४ को जेनजी आन्दोलनलाई क्रान्ति दिवस वा विजय उत्सवका रूपमा मनाइरहेका छन्।उनले भने, ‘तर त्यो कुनै क्रान्ति थिएन, बरु विध्वंश र वितण्डा मात्र थियो।’
बरालले टिओबीले देउवालाई नहटाई देशमा चुनाव गर्न सकिन्न भन्ने निष्कर्षका साथ गगन पक्षलाई प्रयोग गरेर विशेष महाधिवेशनको नाममा हटाएको आरोप लगाए।देउवालाई सभापतिबाट हटाउँदा कांग्रेससँगै प्रजातन्त्र, लोकतन्त्र र देश पनि कमजोर बनेको उनको दाबी छ।
देउवा कांग्रेसको गण्डकी अधिवेशनमा १६ सय बढी प्रतिनिधि सहभागी हुने, देउवासहितका नेताले सम्बोधन गर्ने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर पहिलो साता पोखरामा हुने भएको छ।सो समूहले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने जानकारी दिएको हो।
पोखरा सभागृहमा हुने प्रदेश अधिवेशनको उद्घाटन शेरबहादुर देउवाले गर्ने नेपाली कांग्रेस गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठले जानकारी दिए। उनका अनुसार अधिवेशनको उद्घाटन सत्रलाई देउवासहित नेता शशांक कोइरालालगायतका नेताहरूले सम्बोधन गर्नेछन्। सभागृहमा उद्घाटन सत्र चले पनि मंसिर ६ गते हुने बन्दसत्र तथा निर्वाचन प्रक्रिया भने पोखरा-९, बाँस्तोलाथरस्थित सिल्भर पार्टी प्यालेसमा सञ्चालन हुनेछ।
गण्डकी प्रदेश अधिवेशनमा एक हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने देउवा कांग्रेसका नेता गुरु बरालले जानकारी दिए। उनका अनुसार अधिवेशनमा १८ संघीय निर्वाचन क्षेत्रबाट ३५ जनाका दरले ६३० जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेशका ३६ प्रदेश निर्वाचन क्षेत्रबाट २१ जनाका दरले ७५६ जना प्रदेश प्रतिनिधि सहभागी हुनेछन्।
त्यस्तै, १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका सभापति, ३६ प्रदेशसभा निर्वाचन क्षेत्रका सभापति, प्रदेशका ८५ वटै पालिकाका पार्टी सभापति र सभापतिबाट मनोनीत ४० प्रदेश प्रतिनिधिसहित विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि तथा प्रदेश र संघीय सांसदहरूको सहभागिता रहने बरालले बताए।
गण्डकी प्रदेशमा कांग्रेसका कति क्रियाशील सदस्य छन् भन्नेबारेमा भने गण्डकी कांग्रेस अनभिज्ञ देखिएको छ। नेता बरालले पछिल्लो समय कांग्रेसको क्रियाशील सदस्यता नवीकरण गर्नेको संख्या यकिन नभएको बताए। भने, ‘प्रदेशमा कति क्रियाशील सदस्य छन् र कुन जिल्लामा कति छन् भन्नेबारेमा ठ्याक्कै थाहा भएन, यसबारे जिल्लाबाट विवरण मगाउनुपर्छ।’
अधिवेशनले गण्डकी प्रदेश कार्यसमितिको नयाँ नेतृत्व चयन गर्नेछ। अधिवेशनले आगामी कार्यकालका लागि सभापति १, उपसभापति २, महामन्त्री (खुला २) र सहमहामन्त्री ३ पदाधिकारी चयन गर्ने जनाइएको छ। त्यस्तै, सदस्यमा प्रदेशका ११ जिल्लाबाट तीन जनाका दरले ३३ जना, खुला १० जना तथा विभिन्न समावेशी कोटाबाट १७ जना चयन गर्ने उपसभापति श्रेष्ठले जानकारी दिए।
