झापाको बिर्तामोडमा भएको आगलागीबाट करिब ६ करोड बराबरको भौतिक क्षति भएको छ । बुधवार बिर्तामोड ४ स्थित राजेश मण्डलको दुई तले घरबाट आगो सल्किएको थियो । राजेश मण्डलको दुईतले पक्की घरमा सागर घोषले सञ्चालन गरेको शुभलाभ इलेक्ट्रोनिक्स पसलको गोदाममा अचानक विद्युत् सर्ट भई आगलागी हुँदा उक्त गोदाममा रहेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरु पूर्णरूपमा जलेर नष्ट भएका छन् ।
सो आगो करिब पाँच घण्टा लगाएर नियन्त्रणमा लिइएको हो । आगो निभाउन ७ वटा दमकल खटिएका थिए । बिर्तामोड, भद्रपुर, मेचीनगर, दमक, कमल, शिवसताक्षी र गौरादह पालिकाका दमकलहरू, स्थानीय बासिन्दा र ठुलो सङ्ख्यामा सुरक्षाकर्मीहरु खटिएका थिए । आगो निभाउन जेसीबीसमेत प्रयोग गरिएको थियो ।
आगलागीबाट सुवास घोषको शुभलाभ इलेक्ट्रोनिक्स पसल तथा गोदामका इलेक्ट्रिक सामानहरू करिब ३ करोड, सञ्चालक राजेश खतिवडाको निरिका फर्माको फार्मेसी तथा गोदामका औषधिहरू गरी १ करोड, घरधनी राजेश मण्डलको दुई तले घर पूर्णरूपमा जलेर नष्ट हुँदा करिब २ करोड गरी जम्मा ६ करोड बराबरको क्षति भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । सो आगो साझमा मात्रै नियन्त्रणमा आएको थियो ।
