जापानमा ६.० रेक्टर स्केलको भूकम्प : समुद्रको ३५२ किमी गहिराइमा केन्द्रविन्दु

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

जापानको मी प्रान्तको तटीय क्षेत्र नजिकै आइतबार बिहान ६.० रेक्टर स्केलको भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु मी प्रान्तको राजधानी त्सुबाट करिब ११० किलोमिटर दक्षिणमा रहेको थियो।

त्सुको जनसंख्या २ लाख ५० हजारभन्दा बढी छ। भूकम्प समुद्रको सतहबाट ३५२ किलोमिटर गहिराइमा गएको हो।भूकम्पपछि कुनै सुनामीको चेतावनी जारी गरिएको छैन। हालसम्म कुनै पनि मानवीय वा भौतिक क्षति भएको खबर प्राप्त भएको छैन।

युरोपेली-भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रको वेबसाइटमा मानिसहरूले भूकम्पको कम्पन धेरै बेर सम्म महसुस भएको बताएका छन्। सुरुमा साना कम्पनहरू महसुस भए पनि पछि बिस्तारै कडा झड्का गएको उनीहरूको भनाइ छ।

जापान विश्वका सर्वाधिक भूकम्प प्रभावित देशहरूमध्ये एक हो। यो चारवटा ठूला टेक्टोनिक प्लेटहरूमा अवस्थित छ र प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्दछ। यहाँ प्रतिवर्ष करिब १,५०० भूकम्प जाने गर्दछन्, जसमध्ये अधिकांश साना र मध्यम प्रकृतिका हुन्छन्।

जापानको नोटो टापुमा सन् २०२४ मा आएको भूकम्पमा परी करिब ६०० जनाको मृत्यु भएको थियो। यसअघि सन् २०११ मा गएको ९.० रेक्टर स्केलको महाभूकम्प र त्यसपछिको सुनामीका कारण १८ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका थिए।

जापान सरकारले आगामी ३० वर्षभित्र यहाँ ७५ देखि ८२ प्रतिशतसम्म कडा भूकम्प जान सक्ने चेतावनी दिएको छ। यदि त्यस्तो भूकम्प आएमा करिब २ लाख ९८ हजार मानिसको ज्यान जान सक्ने र २ ट्रिलियन डलर बराबरको क्षति हुन सक्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *