खाडीमा विकसित भएर भारतीय भूमिमा प्रवेश गरेको ‘अर्नब’ चक्रवातको प्रभाव सीमावर्ती जिल्ला सर्लाहीमा आज बुधबार दिउँसोदेखि नै देखिन थालेको छ । आज बिहानसम्म चर्को घाम लागेर सफा रहेको सर्लाहीको मौसम दिउँसोदेखि भने एकाएक वर्षा गराउने बादल लागेर बदली भएको हो । मौसम धाम्मधुम्म हुन थालेपछि धमाधम धान भित्र्याइरहेका किसान चिन्तित बनेका छन् ।
जिल्लाको उत्तरी भेगको लालबन्दी, ईश्वरपुर, हरिवन, हरिपुर, बागमतीलगायत क्षेत्रका अधिकांश किसानले धान काटेर खेतमा पाँजा फिँजाएका छन् । मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने सूचना जारी गरेपछि केही किसानले भने हतारहतार धान तथा पाकेको अन्य कोशे बाली भित्र्याइसकेका छन् ।
आज दिउँसोदेखि मौसम प्रतिकूल बन्ने सङ्केत देखिएपछि किसानले काटेको धानको व्यवस्थापन गरेका छन् । मौसमको सूचना पाएपछि आफूहरुको क्षेत्रमा धेरैजसो किसानले पाकिसकेको धान तत्काल नभित्र्याउने निर्णयमा पुगेका लालबन्दी नगरपालिका–१५, देउरालीका कृष्णराज ठोकरले जानकारी दिए । चाँडो पाक्ने धान लगाइएको फाँटमा पहेँलपुर भएर धान पाकेको छ ।
हरिपुर नगरपालिका–२ का वडाध्यक्ष निलबिक्रम थापाले पानी पर्ने जानकारी पाएपछि केही किसानले तत्कालै धान भित्र्याइसकेका र कतिपयले मौसम पूर्वानुमान महाशाखाको अर्को सूचना आएपछि मात्र धान भित्र्याउने तयारीमा रहेका जानकारी दिए ।
‘अर्नब’ चक्रवातको प्रभावले सर्लाहीमा समेत भारी वर्षाको सम्भावना देखिएपछि नगरपालिका, प्रशासनलगायतका निकायले सतर्कता अपनाउन, तत्काल धान बाली नकाट्न र काटेको भए भित्र्याइहाल्न सूचना जारी गरेका छन् । सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले चक्रवातका कारण कुनै विपत्ति आइहाले सबै निकायले समन्वय गरेर काम गर्ने निर्णय भइसकेको जानकारी दिए ।
