युद्धको छायाबीच चुनावको तयारीमा इजरायल

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

हमासको आक्रमण, गाजामा जारी युद्ध र आन्तरिक विभाजनका बीच इजरायली मतदाताले अक्टोबर २७ मा हुने निर्वाचनबाट प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजनीतिक भविष्य निर्धारण गर्नेछन् ।

निर्वाचनले इजरायलको राजनीति स्थायी रूपमा कट्टर दक्षिणपन्थी राष्ट्रवादतर्फ अघि बढ्ने वा त्यसलाई चुनौती दिने शक्ति बलियो हुने भन्ने सङ्केतसमेत दिनेछ ।

सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणको प्रभाव इजरायली समाजमा अझै देखिन्छ । आक्रमणमा मारिएका युवाका तस्बिर सार्वजनिक स्थानमा टाँसिएका छन् । इजरायलले त्यसयता गाजामा व्यापक विनाश गरेको छ, लेबनानका केही भाग कब्जा गरेको छ र अमेरिकाको सहयोगमा इरानमा बमबारी गरेको छ ।

सैन्य अभियानका कारण इजरायलले पश्चिमी मुलुकबाट समेत आलोचना खेप्नुपरेको छ । नेतान्याहुले अन्तर्राष्ट्रिय फौजदारी अदालतको गिरफ्तारी वारेन्टसमेत सामना गर्नुपरेको छ।

नेतान्याहुले सन् २०२२ मा पुनः सत्तामा फर्किएपछि अति राष्ट्रवादी दलहरूसँग गठबन्धन गरेका थिए। न्यायपालिकाको अधिकार सीमित गर्ने उनको प्रयासले अक्टोबर ७ को आक्रमणअघि नै देशव्यापी विरोध निम्त्याएको थियो ।

कब्जा गरिएको वेस्ट ब्याङ्कमा यहुदी बस्ती विस्तार र प्यालेस्टिनीमाथि इजरायली बसोबासकर्ताको आक्रमणले पनि विवाद चर्काएको छ ।विपक्षी दलहरूले अक्टोबर ७ को आक्रमण रोक्न सरकार असफल भएको विषयलाई चुनावी बहसको केन्द्रमा राखेका छन् ।

पूर्वसैनिक प्रमुख गदी आइसेनकोट नेतान्याहुका प्रमुख प्रतिस्पर्धीमध्ये एक हुन् । उनले सुरक्षा चेतावनी बेवास्ता गरिएको भन्दै सरकारको आलोचना गरेका छन् । नेतान्याहुले भने सुरक्षा निकायका प्रमुखहरूलाई दोष दिँदै आफूलाई समयमै जानकारी नदिइएको दाबी गर्दै आएका छन् । गाजाको युद्धमा आइसेनकोटका छोरा मारिएका थिए ।

मोरक्कोबाट आएका यहुदी आप्रवासी परिवारका आइसेनकोट विभिन्न विचारधाराका मध्यमार्गी मतदातालाई एकत्रित गर्ने प्रयासमा छन् । उनी पश्चिम एशियाली मुलका पहिलो इजरायली प्रधानमन्‍त्री बन्‍नसक्ने व्यक्तिका रुपमा पनि चर्चामा छन् ।

निर्वाचनमा धार्मिक तथा सामाजिक विभाजन पनि प्रमुख मुद्दा बनेको छ । नेतान्याहुले धार्मिक विद्यार्थीलाई अनिवार्य सैन्य सेवाबाट छुट दिएका छन् । लामो समय सैन्य सेवामा खटिएका आरक्षित सैनिकहरू यसबाट असन्तुष्ट छन् । पूर्वप्रधानमन्त्री नफ्ताली बेनेटले सैन्य सेवामा दिइने सबै छुट अन्त्य गर्ने वाचा गरेका छन् ।

विपक्षीहरूले धार्मिक प्राथमिकताअनुसार शनिबार सार्वजनिक यातायात बन्द राख्ने व्यवस्थासहितका विषयले समाज विभाजित बनाएको बताएका छन् ।

युद्धपछि केही इजरायलीमा सरकारप्रतिको समर्थन कायम छ । इरान र हिजबुल्लाहका प्रत्याक्रमणमा इजरायली नागरिक मारिए पनि गाजाबाट हुने गोलीबारी रोकिएको छ । अर्थतन्त्रमा सुधार, निर्माण गतिविधिमा वृद्धि र प्रविधि तथा रक्षा क्षेत्रको नेतृत्वमा सेयर बजार उकालो लाग्नुले सरकारलाई केही राहत दिएको छ ।

पूर्वसांसद उरियेल रेइचम्यानले नेतान्याहुको विजयले इजरायलको दक्षिणपन्थी राजनीतिक परिवर्तन स्थायी बनाउन सक्ने चेतावनी दिएका छन् । उनका अनुसार लोकप्रियतावादी नेताले आफ्ना समर्थकलाई राज्यका संस्थामा स्थापित गर्दै स्वतन्त्र निकायको स्वरूप बदल्न सक्छन् र यस्तो व्यवस्था स्थापित भएपछि त्यसलाई उल्ट्याउन अत्यन्त कठिन हुन्छ ।

एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *