काठमाडौंबाट खोटाङतर्फ जादैगरेको सुमो गाडी सुनकोसीमा खस्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना महिला रहेको सुनकोसी प्रहरीले जनाएको छ ।
घटनास्थलमै मृत भेटिएका तीनै जनाको पहिचान खुल्न बाँकी छ । बेपत्ता रहेका तीन जनाको खोजी भइरहेको छ । बेपत्ताहरुको पनि पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ। काठमाडौबाट खोटाङ जादैगरेको को १ ज २९७६ नम्बरको सुमो गाडी सिन्धुलीको फिकल गाउँपालिका ६ स्थित सडकबाट २०० मिटर तल सुनकोसी नदीमा खसेको हाे ।
कात्तिक १ गते राति करिब साँढे २ बजेको समय खसेको गाडी कोसीमा आधा डुबेको अवस्थामा भेटिएको छ । गाडीमा चालकसहित १० जना सवार रहेका थिए । ४ जनाको उद्धार गरी उपचारको लागि अस्पताल पठाइएको स्थानीय राकेश पोखरेलले बताए ।
उद्धार गरिएको घाइतेहरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङका ३८ वर्षीया सम्झना राई, सम्झनाको छोरी १२ वर्षीया शिवानी राई, दिक्तेल घर बताउने १३ वर्षीय अंकित विश्वकर्मा र सुमो चालक ओखलढुंगाका आशिष बिस्ट रहेका छन । घाइतेहरू लाइ प्राथमिक उपचारपछि थप उपचारका लागि सिन्धुली अस्पताल पठाइएको छ।
