सल्यानको छत्रेश्वरी गाउँपालिका–३, रानाघर नजिकै निकै ठुलो अजिङ्गर फेला परेको छ । शनिबार बेलुकी बडाचौर सामुदायिक वन क्षेत्रमा सडकको घारीमा अजिङ्गर देखिएपछि स्थानीय त्रसित भएका छन् । दारिमज्युलाबाट आफ्नो घर रानागाडातर्फ आउँदै गर्दा सडकको घारीमा हिडीरहेको अवस्थामा सो ठुलो अजिङ्गर देखेको स्थानीय करण पुन मगरले बताए । पहाडी क्षेत्रमा यसअघि यति ठुलो अजिङ्गर कहिल्यै नदेखेको उनको भनाइ छ ।
“म पनि बाइक लिएर घारीको लिक हुँदै घरतर्फ आउँदै थिएँ । एक्कासि यति ठुलो अजिङ्गर देखेपछि निकै त्रसित भएँ । जिन्दगीमा त्यत्रो ठुलो अजिङ्गर कहिल्यै देखेको थिइनँ,” मगरले भने ।
स्थानीयका अनुसार अजिङ्गर अहिले सडकको घारीमा रहेको एउटा प्वालभित्र पसेको छ । उक्त अजिङ्गरको तौल ७० किलोदेखि एक क्विन्टलसम्म हुन सक्ने पुन मगरको अनुमान छ । यद्यपि अजिंगरको वास्तविक तौल र प्रजाति भने पुष्टि हुन बाँकी छ ।
घटनाबारे जानकारी गराउँदै अजिङ्गरको उद्धारका लागि गाउँपालिका अध्यक्ष, वन कार्यालय तथा प्रहरीलाई खबर गरिएको छत्रेश्वरी गाउँपालिका, ३ का पूर्ववडाध्यक्ष राजबहादुर बुढाथोकीले जानकारी दिए ।
बुढाथोकीका अनुसार अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी टोली तथा स्थानीयवासी पुगेका छन् । अजिङ्गरको सुरक्षित उद्धारका लागि आवश्यक पहल भइरहेको बताइएको छ ।
अजिङ्गर देखिएको स्थानबाट खारखोलादेखि नुवागाउँ तथा कोरबाङतर्फ आवतजावत गर्ने स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । उद्धार टोली नपुग्दासम्म अजिङ्गर रहेको प्वाल नजिक नजान, त्यसलाई जिस्क्याउने वा समात्ने प्रयास नगर्न र सुरक्षित दुरी कायम गर्न स्थानीयलाई अनुरोध गरिएको छ ।
