झोलुङ्गे पुलमा माेटर साइकलले जाम गम्भिर दु्र्घटना हुन सक्ने जाेखम

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

भोटेकोशी–त्रिशूली नदीमा भदौ १० गते आएको हिमबाढीले धेरै ठाउँमा पक्की पुल बगाएपछि दुईपाङ्ग्रे सवारीसाधनका चालकले विकल्पका रूपमा झोलुङ्गे पुल प्रयोग गर्ने गरेका छन् । झोलुङ्गे पुलमा समेत सवारी चाप बढेपछि दुईपाङ्ग्रे सवारीचालक पुल पार गर्नकै लागि लामो समयसम्म जाममा बस्नुपर्ने बाध्यतामा छन् । साथै सवारीको भार बढ्दै गर्दा झोलुङ्गे पुलमा समेत सुरक्षा चिन्ता बढेको छ ।

अहिले विशेष गरी त्रिशूली नदीबाट धादिङ र नुवाकोट जिल्ला आउजाउ गर्न मोटरसाइकलचालकले झोलुङ्गे पुल प्रयोग गर्ने गरेका छन् । बाढीले पक्की सडक बगाएपछि मोटरसाइकलचालकले सहज र छिटो यात्राका लागि नुवाकोटको बेलकोटगढी, त्रिशूलीसहित धादिङको मलेखुमा रहेको झोलुङ्गे पुल प्रयोग गरिरहेका छन् ।

अन्य समयमा सुनसान  रहने यी झोलुङ्गे पुलमा अहिले दैनिक जसो ठुलो जाम हुने गरेको छ । पुलमा पैदल र मोटरसाइकलको भिड उस्तै देखिन्छ । धादिङ सदरमुकाम धादिङबँेसी र पृथ्वी राजमार्ग जोड्ने फुर्केखोलाको पुल बगाएपछि सदरमुकाम र आसपास जाने यात्रुले त्रिशूली नदीमाथिको झोलुङ्गे पुलबाट आवत जावत गरिरहेका छन् ।

यो पुल बेनीघाट रोराङ गाउँपालिका–३ स्थित राजमार्ग हस्पिटलछेउमा छ । दसैँ सकिएर काठमाडौँ फर्किने मोटरसाइकल यात्रुलाई यो पुलबाट आवतजावत गर्न दिइएको हो । पुल निकै साँघुरो छ । यसका कारण एक पटकमा एउटा मात्रै सवारीसाधन आवतजावत गर्न दिइने सूचना स्पष्ट देखिने गरी टाँंसिएको छ तर एकै पटक प्रशस्तै मोटरसाइकल तथा स्कुटर आवतजावत गरिरहेका छन् । पैदल यात्रु पनि मोटरसाइकलसँग ठोक्किँदै पुल पार गरिरहेका छन् ।

आफूहरूलाई पुलको सुरक्षाबारे चिन्ता भए पनि बाध्यताका कारण जबरजस्ती मोटरसाइकल चलाएर हिँड्नु परेको धादिङबाट काठमाडौँतर्फ आइरहेका कृष्ण सिलवालले बताउछन् । उनले भने , “पुलमा पालो कुर्नका लागि घाममा आधा घण्टाभन्दा बढी जाममा बस्नु प-यो । बल्ल बल्ल पालो आएपछि मैले मात्रै होइन, अरूले समेत सुरक्षा खतरा मोलेर भए पनि पुलमा मोटरसाइकल गुडाइरहेका छन् ।”

जाम व्यवस्थापन गर्न पुलका दुवैतर्फ ट्राफिक र जनपद प्रहरीसमेत खटाइएको छ तर सवारी र पैदल हिँड्नेको सङ्ख्या बढेपछि व्यवस्थापन गर्न उनिहरूलाई समेत हम्मेहम्मे परेको छ । पुलमा मोटरसाइकल छिरेपछि पैदलयात्रीलाई समेत दोहोरो हिँड्न ठाउँ पुग्दैन तर पुलमा एकआपसमा कोच्चिएर भए पनि ओहोरदोहोर भइरहेको छ । दसैँअघिसम्म स्थानीय युवाले पुलको प्रवेशद्वारमै बसेर एक पटकमा एउटा मात्रै मोटरसाइकल प्रवेश गराउने गरेका थिए ।

दसैँ सकिएर मान्छे काठमाडौँ, पोखरा, चितवन फर्कन थालेपछि भने भिड बढेको र आफूहरूले नियन्त्रण गर्न खोजे पनि नसकिएको स्थानीय अभिशेष कँडेलले बताए  । झोलुङ्गे पुलमा अनियन्त्रित रूपमा मोटरसाइकल र पैदलयात्री चढाउनु सुरक्षाको हिसाबले जोखिमपूर्ण रहेको पूर्वाधारविज्ञहरू को भनाइ छ ।

स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक अशोककुमार साहले पनि झोलुङ्गे पुलमा सवारी चाप बढ्दा सुरक्षा खतरा बढेको बताउछन् । झोलुङ्गे पुलको भार क्षमताभन्दा बढी चाप बढ्दा विगतमा सुर्खेतलगायतका ठाउँमा दुर्घटना भएको उदाहरण दिँदै उनले भने , “अहिले पनि हामीले पुल सञ्चालन गर्दा स्थानीय प्रशासन र वा सुरक्षाकर्मीको उपस्थिति अनिवार्य बनाउन भनेका छौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *