नेपालीहरूको महान पर्वहरू दसैं–तिहारको रौनकबिच रूपन्देहीका किसानलाई पाकेको धान भित्र्याउने चिन्ता परेको छ । खेतमा धान पाकेर पहेँलपुर बनेपछि किसानहरू बाली काट्ने र स्याहार्ने काममा व्यस्त भएका छन् ।
दसैंअघि कतिपय किसानले धान काटिसकेका छन् भने केही किसानअहिले धान काट्ने तयारीमा जुटेका छन् । रूपन्देहीको तिलोत्तमा नगरपालिका –४, विष्णुपुर (शीतलकुञ्ज) क्षेत्रमा पनि किसानहरू धान भित्र्याउन व्यस्त देखिन्छन् । चाडपर्वको उल्लाससँगै पाकेको धान स्याहार्ने कामले किसानको दैनिकी व्यस्त बनेको छ ।
स्थानीय किसान दीपक डुम्रे (६४) ले यसपाली तीन कठ्ठा खेतमा खेती गरेर करिब १५ मुरी धान उत्पादन गरेको बताए । उनका अनुसार धान उत्पादनका लागि बिउ खरिद, खेताला लगाउने र ट्याक्टरले खेत जोताउने लगायत काममा करिब १० हजार रुपियाँ खर्च हुनेगरेको छ ।
२०३८ सालदेखि खेती किसानी गर्दै आएका डुम्रेले लामो समयदेखि कृषि पेसालाई निरन्तरता दिँदै आएका छन् । धान खेतीपछि सोही खेतमा विभिन्न प्रकारका हिउँदे बाली लगाउन सकिने उनले बताए । धान काटिसकेपछि मकै, गहुँ, तोरी, मसुरो, तरकारी, राजमा र भटमास खेती गर्न सकिने उनको भनाइ छ। यसरी एउटै खेतमा मौसमअनुसार विभिन्न बाली लगाएर खेती गर्न सकिने र मनग्ये आम्दानी बढाउन सकिने बताए ।
तर, खेतीपाती गर्दा छाडा गाईवस्तुका कारण बाली जोगाउन मुस्किल हुनेगरेको डुम्रेले गुनासो गर्दै मेहनत गरेर लगाएको बाली छाडा गाईवस्तुले खाइदिने तथा नोक्सान पुर्याउने समस्याले किसानलाई चिन्तित बनाउने गरेको उनको भनाइ छ । बाली जोगाउन नसक्दा किसानले गरेको लगानी र मेहनत खेर जाने जोखिम समेत रहने गरेको छ ।
धान भित्र्याउने समयसँगै किसानहरू आगामी हिउँदे बाली लगाउने तयारीमा जुट्ने गरेका छन् । खेतमा पाकेको धान काटेर घर भित्र्याएपछि पुनः अर्को बाली लगाउने तयारी गर्नुपर्ने भएकाले किसानका लागि यो समय महत्वपूर्ण छ । कृषि उत्पादन बढाउन सहज वातावरण, बिउ, मल, बालीको सुरक्षा र खेतीपातीमा आवश्यक सहयोग भए थप राहत महसुस हुने किसानहरूको भनाइ छ ।
जिल्लामा यस वर्ष ६३ हजार ५५० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ। जिल्लाको कुल क्षेत्रफल १ लाख २९ हजार ६७६ हेक्टर रहेकोमा ८९ हजार ३८४ हेक्टर खेतीयोग्य जमिन रहेको छ। जिल्लामा धान उत्पादनको उच्च सम्भावना रहे पनि सिँचाइ सुविधा अझै सबै क्षेत्रमा पुग्न सकेको देखिदैन ।
