क्यानडाको सैन्य शिविरमा भीषण आगलागी, चार सैनिकको मृत्यु, दर्जनौँ घाइते

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

क्यानडाको अल्बर्टा प्रान्तस्थित सैन्य शिविरमा भएको भीषण आगलागीमा कम्तीमा चार सैनिकको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रधानमन्त्री मार्क कार्नीले बताएका छन् ।

शनिबार स्थानीय समयअनुसार अपराह्न करिब ४ बजे क्यानडियन फोर्सेस बेस वेनराइटमा आगलागी भएको थियो । तीव्र हावाका कारण आगो छिटो फैलिएको स्थानीय प्रशासनले जनाएको छ ।

आगलागीको कारणबारे आधिकारिक पुष्टि भएको छैन । स्थानीय सञ्चारमाध्यमका अनुसार सैन्य अभ्यासका क्रममा ग्यासको मुख्य पाइपमा क्षति पुगेपछि आगलागी भएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि, अधिकारीहरूले यसको पुष्टि गरेका छैनन् ।

क्यानडाको रक्षा मन्त्रालयले घटनाको अनुसन्धान भइरहेको जनाएको छ। प्रारम्भिक विवरणअनुसार आगलागीमा आतंकवादी गतिविधिको संलग्नता रहेको कुनै संकेत फेला परेको छैन ।

प्रधानमन्त्री कार्नीले घटनालाई क्यानडाको सैन्य इतिहासमा शान्तिकालमा भएका सबैभन्दा दुःखद घटनामध्ये एक भन्दै उद्धारकर्मीहरूले कठिन परिस्थितिमा रातभर आगो नियन्त्रण गर्ने प्रयास गरेको बताएका छन् ।

घटनापछि एडमन्टनस्थित रोयल अलेक्जेन्ड्रा अस्पतालले ठूलो संख्यामा घाइतेको उपचार गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै आपत्कालीन विपद् प्रतिक्रिया घोषणा गरेको थियो। अस्पतालमा एम्बुलेन्समार्फत घाइतेहरू ल्याइएका थिए ।

क्यानडियन फोर्सेस बेस वेनराइट अल्बर्टाको ग्रामीण क्षेत्रमा अवस्थित छ । यो क्यानडाली सेनाको प्रमुख सैन्य तालिम केन्द्रमध्ये एक हो। यहाँ सैन्य अभ्यास सञ्चालन हुनुका साथै यसको विमानस्थल क्यानडाको वायुसेनाले पनि प्रयोग गर्छ ।

घटनामा ज्यान गुमाउने सैनिकको परिचय सार्वजनिक गरिएको छैन । उनीहरूका परिवारलाई भने जानकारी गराइसकिएको प्रधानमन्त्री कार्नीले बताएका छन् । आगलागीको कारण र घटनाबाट भएको कुल क्षतिको विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *