काठमाडौँ महानगरपालिकाले आज कात्तिक १ गतेदेखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जानकारी दिएको छ । दसैँको मुख्य दिन परेकाले सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुने महानगरले जनाएको छ ।
कात्तिक १ गतेदेखि ४ दिनसम्म उत्पादन भएको फोहोरलाई कुहिने र नकुहिने वर्गमा वर्गीकरण गरी छुट्टाछुट्टै रूपमा राख्न पनि वातावरण व्यवस्थापन विभागले अनुरोध गरेकाे छ । ‘आफ्नो घर, कार्यालय तथा व्यवसायबाट उत्पादन हुने फोहोरलाई जथाभावी रूपमा सडक र सार्वजनिक स्थानमा नफाली आफ्नै घर, कम्पाउन्डमा व्यवस्थापन गर्नुहोला,’ महानगरले भनेकाे छ ।
उक्त मितिबाहेक अन्य दिन नियमित रूपमा फोहोर व्यवस्थापन हुनेछ ।
