विनाशकारी भोटेकोशी बाढी गएको तीन महिना पूरा भएको छ। रसुवा, नुवाकोट र धादिङमा भोटेकोशी र त्रिशूली नदी किनारमा रहेका बस्ती नै बगाउँदा १ हजार ४६४ जनाको मृत्यु भएको र ५ हजार २८५ जना बेपत्ता भएको तथ्यांक सरकारसँग छ। मृतकमध्ये ११० जनाको मात्रै शव पहिचान गरी आफन्तले बुझेका थिए। फेला परेका बाँकी शवको डीएनए नमुना संकलन गरी सरकारले व्यवस्थापन गरेको थियो।
सरकारले बेपत्ता नागरिकको हकमा विगतको ऐन संशोधन गर्दै ४५ दिनभित्र मृत घोषणा गर्न सकिने नयाँ कानुन ल्याएको थियो। दसैँअघि नै अध्यादेशमार्फत उक्त कानुन कार्यान्वयनमा आए पनि एक महिनासम्म बेपत्ता पाँच हजारभन्दा बढी नागरिक मृत घोषित भएका छैनन्।
राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले दसैँतिहार बिदाका कारण मृत घोषणा गर्ने प्रक्रियामा ढिलाइ भएको स्वीकार गर्दै अब छिट्टै प्रक्रिया टुंगिने दाबी गरे।उनका अनुसार विभिन्न ४८ जिल्ला र १९ देशबाट मृत घोषणा गर्नका लागि प्राधिकरणमा विवरण आएका छन्। बेपत्ताको सूचीमा पाँच हजारभन्दा बढीको नाम रहे पनि हालसम्म ४ हजार १०५ जनाको मात्रै विवरण प्राप्त भएको प्रवक्ता केसीले जानकारी दिए। तीमध्ये ३ हजार ९१५ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको उनले बताए।
प्राधिकरणले गत शनिबार सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिहरूको दाबी पेस गर्न आह्वान गरेको छ। बेपत्ताको सूचीमा रहेका व्यक्तिहरू जीवित रहेको वा फेला परेको कुनै जानकारी भए विवरण पेस गर्न प्राधिकरणले सार्वजनिक सूचना जारी गरेको हो।प्रवक्ता केसीका अनुसार सात दिनको म्याद आगामी शुक्रबार सकिनेछ। त्यसपछि गृहमन्त्रीको अध्यक्षतामा बस्ने प्राधिकरणको कार्यकारी समितिको बैठकले अन्तिम रुजु गरी मृत घोषणा गर्न मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ। मृत घोषणाको अन्तिम निर्णय भने मन्त्रिपरिषद्ले गर्नेछ।
सरकारको निर्णयलगत्तै बेपत्ता नागरिकलाई मृत घोषणा गर्दै सम्बन्धित स्थानीय तहले आफन्तलाई मृत घोषणाको प्रमाणपत्र उपलब्ध गराउनेछन्।प्रवक्ता केसीका अनुसार भोटेकोशी बाढीमा मनाङ र मुस्ताङबाहेक बाँकी सबै ७५ जिल्लाबाट बेपत्ताका निवेदन परेका छन्। पहिलो चरणमा ४७ जिल्ला र दोस्रो चरणमा बाँकी २८ जिल्लाका बेपत्ता नागरिकलाई मृत घोषणा गर्ने प्रक्रिया सुरु हुनेछ।
उनका अनुसार बाढीमा विभिन्न ३४ देशका नागरिक बेपत्ता रहेको प्रारम्भिक विवरण आए पनि मृत घोषणा प्रक्रियामा भने १९ देशका नागरिक मात्रै सहभागी भएका छन्। मृत घोषणाका लागि भारतसहित १२ देशका ४५२ जनाको निवेदनअनुसार मृत घोषित गर्न प्रक्रिया अगाडी बढाइएको छ। बाँकी ७ देशका नागरिकलाई भने थप विवरणसहित दोस्रो प्रक्रियामा सहभागी गराइने छ। देशभित्र र बाहिर पनि बेपत्ता व्यक्तिहरू भेटिएको सूचना प्राप्त भएकाले प्रक्रिया पारदर्शी बनाउन केही समय लागेको केसीको भनाइ छ।
बाढीपछि रसुवा, नुवाकोटसहितका प्रशासन कार्यालयमा टिपोट गरिएको नामको विवरण उच्च रहेकाले दोस्रो चरणको मृत घोषणा प्रक्रियामा सहभागी हुन प्रवक्ता केसीले सबैलाई आग्रह गरेका छन्।
प्रवक्ता केसीका अनुसार मृत घोषणाका लागि बेपत्ता व्यक्तिका आफन्तले सम्बन्धित वडामा सम्पूर्ण विवरणसहित निवेदन दिनुपर्नेछ। उक्त निवेदन वडा कार्यालयले सम्बन्धित स्थानीय तहको कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालयमा पठाउनेछ। जिल्ला प्रशासन कार्यालयबाट गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा विवरण प्राप्त हुनेछ।
प्राधिकरणले प्राप्त विवरणलाई अन्तिम रूप दिँदै सार्वजनिक सूचना जारी गर्नेछ। दाबीविरोधको सूचनामा आवश्यक कारबाहीपछि अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा सिफारिस गरिनेछ। बेपत्ताहरूलाई मृत घोषणा नगर्दा विभिन्न सरकारी प्रक्रियामा समस्या भएको भन्दै आफन्तहरूले भने प्रक्रिया छिटो टुंग्याउन आग्रह गर्दै आएका छन्।
