लिबियाको बेन्गाजीस्थित बन्दरगाहमा युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोत डुबेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् ।
आइतबार बिहान इन्धन तथा आवश्यक सामग्री भरेर रुस फर्किने तयारीमा रहेको रुसी युद्धपोतमा विस्फोट भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
जेलेन्स्कीका अनुसार आक्रमणमा रुसी नौसेनाको कोर्भेट युद्धपोत ‘मर्क्युरी’ डुबेको छ । उक्त आक्रमणका लागि सातवटा नौसैनिक ड्रोन प्रयोग गरिएको उनले बताएका छन् । आक्रमणमा युद्धपोतमा रहेको केए–२७ लडाकु हेलिकप्टरसमेत नष्ट भएको उनको दाबी छ ।
युक्रेनी राष्ट्रपतिले रुसी हतियार ओसारपसारमा प्रयोग भइरहेको एमभी अंगारा नामक अर्को मालवाहक पानीजहाजलाई समेत निशाना बनाइएको बताएका छन् । यद्यपि, दोस्रो जहाजको क्षतिबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
आक्रमणपछि रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले क्षेत्रीय तनाव बढ्न सक्ने चेतावनी दिएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले घटनाबारे रक्षा मन्त्रालयले थप जानकारी दिने बताएका छन् ।
लिबियाका दुवै प्रतिस्पर्धी सरकारहरूले आक्रमणको निन्दा गरेका छन् । त्रिपोलीस्थित अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारले विदेशी शक्तिलाई लिबियाका बन्दरगाह तथा नागरिक पूर्वाधार सैन्य प्रयोजनका लागि प्रयोग गर्न नदिने बताएको छ । बेन्गाजीस्थित पूर्वी सरकारले भने घटनालाई आफ्नो सार्वभौमिकतामाथिको आक्रमण भनेको छ ।
संयुक्त राष्ट्रसंघको लिबिया मिसनले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल स्वतन्त्र र पारदर्शी अनुसन्धान गर्न माग गरेको छ । लिबियालाई विदेशी द्वन्द्वको रणभूमि बन्न दिन नहुने उसको भनाइ छ ।
यसअघि शनिबार फिनल्यान्डको खाडीमा रुसतर्फ गइरहेको अर्को मालवाहक जहाज ‘स्पार्टा–२’ पनि ड्रोन आक्रमणमा परेको थियो । उक्त आक्रमणमा युक्रेनको संलग्नता हुन सक्ने फिनल्यान्डको रक्षा निकायले जनाएको छ । तर, युक्रेनले त्यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।
सन् २०११ मा तत्कालीन शासक मुअम्मर गद्दाफी सत्ताच्युत भएपछि लिबिया राजनीतिक अस्थिरतामा फसेको छ । हाल देशमा त्रिपोलीस्थित सरकार र पूर्वी क्षेत्रमा रहेको प्रतिस्पर्धी प्रशासनबीच शक्ति संघर्ष जारी छ ।
रुसी सेनाको लिबियामा रहेको उपस्थितिलाई लिएर यस घटनाले मस्को र लिबियाको पूर्वी प्रशासनबीच थप तनाव उत्पन्न हुन सक्ने विश्लेषकहरूले बताएका छन् । रुसी सम्बन्ध रहेका पूर्वी लिबियाका सैन्य कमान्डर खलिफा हफ्तरले पनि घटनालाई आफ्नो पक्षमाथिको चुनौतीका रूपमा लिन सक्ने विश्लेषकहरूको भनाइ छ ।
