बंगलादेशका विभिन्न क्षेत्रमा बिहीबार बन्दको प्रभाव पर्याे । पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकहरूले गरेको प्रदर्शनका क्रममा हिंसात्मक झडप, बम विस्फोट र आगजनीका घटना भएका छन् । प्रदर्शनकारीले पूर्वअन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसको पुर्ख्यौली घरमा समेत आगजनी गरेका छन् ।
हसिनाको पार्टी अवामी लिगले डिसेम्बरमा उनको प्रस्तावित स्वदेश फिर्तीका लागि समर्थन जुटाउन एक सातासम्म प्रदर्शन र र्याली गर्ने कार्यक्रम घोषणा गरेको थियो । त्यसै कार्यक्रमको अन्तिम दिन हिजाे बिहीबार देशव्यापी बन्द आह्वान गरिएको थियाे ।
सन् २०२४ को अगस्टमा राजीनामा माग्दै भएको हिंसात्मक प्रदर्शनपछि ढाका छाडेर भारतमा निर्वासनमा बस्दै आएकी हसिनाले स्वदेश फर्कन सहज होस् भनेर नयाँ राहदानी र परिचयपत्रका लागि अनुरोध गरेकी छन् । सरकारले उनको अनुरोध अस्वीकार गरेपछि समर्थकहरूले विरोध प्रदर्शन गरिरहेका छन् ।
हिंसा रोक्न बंगलादेश सीमा सुरक्षा बलका ९७ प्लाटुन सात जिल्लामा परिचालन गरिएको थियाे । सीमा सुरक्षा बलका प्रवक्ताका अनुसार हसिनाका समर्थकहरूको उल्लेख्य उपस्थिति रहेका गोपालगन्ज र फरीदपुरसहितका जिल्लामा सुरक्षाकर्मी परिचालन गरिएको हो ।
प्रहरीका अनुसार बुधबार राति ढाकाबाट करिब ३०० किलोमिटर दक्षिणपूर्वमा रहेको चट्टोग्रामस्थित युनुसको पुर्ख्यौली घरमा आगजनी गरिएको थियो ।
प्रहरीले रोयटर्सलाई बताएअनुसार प्रयोगमा नरहेको घरको भुइँतलाको एउटा कोठामा ज्वलनशील पदार्थ फ्याँकिएको आशंका गरिएको छ । माथिल्लो तलामा बस्दै आएका युनुसका पितातर्फका परिवारका सदस्यहरू भने सुरक्षित रहेको प्रहरीले जनाएको छ ।
हसिना सत्ताच्युत भएपछि बंगलादेशको नेतृत्व गरेका युनुस र उनको सरकारप्रति हसिनाका समर्थकहरू आक्रोशित रहँदै आएका छन् ।
पछिल्ला १० दिनयता जारी प्रदर्शनका क्रममा कम्तीमा २८ जिल्लामा दर्जनौँ घरेलु बम विस्फोट र सवारीसाधनमा आगजनीका घटना भएको प्रहरीले जनाएको छ । सञ्चारमाध्यमका अनुसार ती घटनामा केही प्रहरी अधिकारी र सर्वसाधारण घाइते भएका छन् ।
मंगलबार राति हसिनाको गृहजिल्ला गोपालगन्जनजिकै भएको प्रदर्शनका क्रममा सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का एक कार्यकर्ताको अज्ञात व्यक्तिहरूले हत्या गरेको प्रहरीले जनाएको छ ।
त्यही रात सांस्कृतिक मामिलामन्त्री निताई रोय चौधरीको ढाकास्थित निवासबाहिर घरेलु बम विस्फोट भएको थियो । साथै, गोपालगन्जमा बीएनपीका एक सांसदको घर र पार्टी समर्थकका पसलहरूमा आगजनी गरिएको प्रहरीले जनाएको छ ।
बुधबार बिहान दक्षिणी जिल्ला पिरोजपुरमा दुईवटा बसमा आगजनी भएपछि बस कम्पनीका एक सहयोगी जलेर मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
सन् २०२४ मा हसिनाविरुद्ध भएको विद्यार्थी नेतृत्वको आन्दोलन दबाउन घातक दमनको आदेश दिएको ठहर गर्दै स्थानीय अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको मंगलबार एक वर्ष पुगेको छ । उनी भारतमा निर्वासनमा बस्दै आएकी छन् ।
यसैबीच, हिजै बिहीबारनै प्रहरीले पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदलाई ढाकास्थित निवासबाट नियन्त्रणमा लिएको छ । सन् २०२४ को प्रदर्शनका क्रममा भएका विभिन्न हत्यासम्बन्धी अभियोग उनीमाथि लागेको प्रहरीले रोयटर्सलाई जानकारी दिएको छ ।
युनुसले स्थापना गरेको ग्रामीण बैंकका कम्तीमा ३७ शाखा तथा कार्यालयमा नोभेम्बर १० यता आगजनी वा आगजनीको प्रयास भएको बैंकले जनाएको छ । मंगलबार मध्यरातयता मात्रै थप १४ कार्यालयमा आक्रमण भएको बैंकको भनाइ छ ।
मंगलबार गृहमन्त्री सलाहुद्दिन अहमदले विदेशमा रहेका अवामी लिगका नेताहरूले समर्थकहरूलाई बंगलादेश अस्थिर बनाउन र सम्पत्तिमा आगजनी गर्न उक्साइरहेको आरोप लगाएका थिए । हिंसामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनी कारबाही गरिने उनले बताएका थिए । रोयटर्स ।
