थरिन्दु रत्नायकेको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा पुगेको हो ।
चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा रत्नायकेले अविजित ५३ रनको योगदान दिए उनले ४२ बलमा साे रन बनाएका हुन् ।
सुरुवातदेखि नै दबाबमा परेको सुदूरपश्चिमले चौथो ओभरमा पहिलो विकेट गुमायो । ओपनर जर्ज मन्से १५ बलमा आठ रन बनाएर आउट भए भने उनलाइ चितवनका रिजन ढकालले आउट गरेका थिए ।
त्यसपछि आक्रामक ब्याटिङ गरिरहेका अर्का ओपनर विनोद भण्डारी १३ बलमा २३ रन बनाएर पभेलियन फर्किए । उनलाई रन्जित कुमारले आउट गरे । पावरप्लेमा सुदूरपश्चिमले दुई विकेट गुमाएर ४१ रन बनाएको थियो ।
तेस्रो नम्बरमा आएका स्कट कुगेलाइन पाँच बलमा दुई रन बनाएर आउट भए । इशान पाण्डेले नौ बलमा १० रन बनाए भने उनलाई पनि रन्जित कुमारले पभेलियन पठाएका थिए ।
त्यसपछि ब्याटिङमा आएका कप्तान दीपेन्द्रसिंह ऐरीले १६ बलमा १५ रन बनादा आरिफ शेखले १० बलमा १० रन जोडे । लगातार विकेट गुमाएपछि दबाबमा परेको सुदूरपश्चिमको इनिङ्स रत्नायकेले सम्हाल्दैले अन्तिमसम्म टिकेर टोलीलाई जितसम्म पुर्याउन सफल भए ।
बलिङतर्फ चितवनका रन्जित कुमारले दुई विकेट , सलाउद्दिन खान, उसामा मिर, कमल सिंह ऐरी र रिजन ढकालले समान एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३३ रन बनाएको थियो । चितवनका लागि डाविड मलानले अविजित ७१ रन बनाउदै ५१ बलमा नौ चौका र दुई छक्का प्रहार गरेका थिए ।
ओपनर कमिल मिशारा तीन बलमा चार रन बनाएर आउट भए भने देव खनालले नौ बलमा छ रन बनाए । कप्तान रवि बोपारा एक, विवेक यादव तीन, कुशल मल्ल एक र उसामा मिर दुई रन बनाएर पभेलियन फर्किए ।
सलाउद्दिन खानले १६ बलमा १८ तथा कमल सिंह ऐरीले आठ बलमा १० रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलाइनले तीन विकेट लिए । थरिन्दु रत्नायकेले दुई तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान एक विकेट लिए ।
सुदूरपश्चिमले अब उपाधिका लागि शनिबार हुने फाइनलमा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भएपछि सुदूरपश्चिमले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नुपरेको थियो । चितवनले भने एलिमिनेटरमा काठमाण्डु गोरर्खालाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।
