दोलखामा कुनै समय सेताम्मे हिउँले ढाकिने हिमाल पछिल्लो समय काला पहाडजस्ता देखिन थालेका छन्। हिउँ पर्ने समयमा समेत हिमाली चुचुराहरूमा पर्याप्त हिउँ नदेखिनु, हिमनदी पग्लिँदै जानु र मौसमको चक्रमा परिवर्तन आउनुले हिमाली क्षेत्र जलवायु परिवर्तनको प्रभावमा पर्दै गएको संकेत गरिरहेको छ।
हिमालको यही बदलिँदो अवस्था, वातावरणीय संकट र दिगो विकासका सम्भावनाबारे अन्तर्राष्ट्रियस्तरमा बहस गर्न दोलखाको चरीकोटमा पहिलोपटक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ।
दोलखाको चरीकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पसले पहिलोपटक आयोजना गर्न लागेको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन आगामी नोभेम्बर २० देखि २२ सम्म क्याम्पसको सभाहलमा सञ्चालन हुनेछ। ‘प्रथम अन्तर्राष्ट्रिय सम्मेलन २०२६’ नाम दिइएको सम्मेलनको मुख्य विषयवस्तु ‘हिमाली क्षेत्रमा सामाजिक–आर्थिक तथा वातावरणीय परिवर्तन र दिगोपन’ रहेको छ।
हिमाली क्षेत्रमा देखिँदै गएको वातावरणीय परिवर्तन, प्राकृतिक स्रोतको संरक्षण, आर्थिक तथा सामाजिक रूपान्तरण र स्थानीय समुदायको जीवनयापनमा परेको प्रभावबारे अनुसन्धान तथा नीतिगत बहस गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको सहायक क्याम्पस प्रमुख बालकृष्ण फुयालले बताए।
पछिल्ला वर्षहरूमा हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम र समय अनियमित बन्दै गएको छ । हिउँ पर्ने मौसममा समेत कतिपय हिमाली क्षेत्र हिउँविहीन देखिन थालेका छन्। तापक्रममा आएको परिवर्तनसँगै हिउँ छिटो पग्लिने र हिमनदीको अवस्था बदलिँदै जाने समस्याले हिमाली क्षेत्रको प्राकृतिक सन्तुलनमा असर पारिरहेको छ। यसको प्रभाव हिमाली क्षेत्रमा मात्र सीमित नभई पानीका स्रोत, कृषि, जलविद्युत्, पर्यटन र स्थानीय समुदायको जीविकोपार्जनसम्म पुग्ने जोखिम देखिएको छ।
यस्तो अवस्थामा हिमाली क्षेत्रको वर्तमान अवस्था र भविष्यका चुनौतीलाई केन्द्रमा राखेर दोलखाको चरीकोटमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सम्मेलनले हिमाली क्षेत्रका समस्या पहिचान गर्नुका साथै तिनको समाधानका लागि आवश्यक अनुसन्धान, अनुभव र ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको सहायक क्याम्पस प्रमुख बालकृष्ण फुयालको भनाइ छ।
उनकाअनुसार संस्थाको उच्च शिक्षा, अनुसन्धान तथा शैक्षिक गतिविधिलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो। हिमाली क्षेत्रका साझा समस्या र सम्भावनाबारे स्थानीय अनुभव, परम्परागत ज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई एकै ठाउँमा जोडेर छलफल गर्ने लक्ष्य रहेको उनले बताए। सम्मेलनमा हिमाली क्षेत्रमा भइरहेको वातावरणीय परिवर्तन, आर्थिक रूपान्तरण, सांस्कृतिक विकास र सामाजिक संरचनामा आइरहेका परिवर्तनले हिमाली पारिस्थितिक प्रणाली तथा स्थानीय समुदायमा पारेको प्रभावबारे बहुआयामिक छलफल हुनेछ।
आयोजकका अनुसार सम्मेलनमा १२ वटा विषयगत क्षेत्रअन्तर्गत कुल ८५ वटा अनुसन्धानपत्र प्रस्तुत गरिनेछन्। कृषि तथा खाद्य प्रणाली, उच्च शिक्षाको भविष्य, वन तथा जैविक विविधता, संस्कृति तथा परम्परागत ज्ञान, लैङ्गिक तथा सामाजिक समावेशीकरण, अर्थशास्त्र तथा लगानी, उद्यमशीलता, सार्वजनिक नीति तथा सुशासन, जनस्वास्थ्य, डिजिटल प्रविधि, हिमाली पर्यटन, जलस्रोत तथा जैविक चिकित्सा विज्ञान सम्मेलनका प्रमुख विषय रहने जनाएको छ ।
विशेषगरी प्रमाणमा आधारित शैक्षिक अनुसन्धानलाई स्थानीय समुदायको परम्परागत ज्ञान र व्यावहारिक नीतिगत ढाँचासँग जोड्ने विषयलाई सम्मेलनले प्राथमिकता दिएको छ । हिमाली क्षेत्रका समस्या पहिचान गर्नुका साथै तिनको समाधानका लागि अनुसन्धानबाट प्राप्त निष्कर्षलाई नीतिनिर्माणसँग जोड्ने उद्देश्य रहेको फुयालले जानकारी दिए । सम्मेलनका १२ वटै सत्र नेपाली तथा विदेशी प्राध्यापकहरूले सहजीकरण गर्नेछन्।
हिमाल प्राकृतिक सौन्दर्य र पर्यटनको आधार मात्र नभई पानीका स्रोत, जैविक विविधता, कृषि प्रणाली र लाखौँ मानिसको जीवनसँग जोडिएको महत्वपूर्ण प्राकृतिक सम्पदा हो । हिमालमा हिउँको मात्रा घट्दै जानु र हिमनदीमा देखिन थालेको परिवर्तनले भविष्यमा पानीको उपलब्धता, प्राकृतिक विपद् र जीविकोपार्जनमा पार्न सक्ने प्रभावबारे समयमै अध्ययन र बहस आवश्यक देखिएको छ।
दोलखाको चरीकोटमा गौरीशंकर बहुमुखी क्याम्पसले पहिलोपटक आयोजना गर्न लागेको यस अन्तर्राष्ट्रिय सम्मेलनले जिल्लाको शैक्षिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउनुका साथै हिमाली क्षेत्रका सवाललाई विश्वव्यापी बहसमा जोड्ने अपेक्षा गरिएको छ।
सम्मेलनमार्फत चरीकोटलाई हिमाली क्षेत्रसम्बन्धी अध्ययन, अनुसन्धान र ज्ञान आदानप्रदानको महत्वपूर्ण थलोका रूपमा स्थापित गर्ने आयोजकको विश्वास छ ।
