शिशुको मृत्यु भएपछि अस्पतालमा तनाव

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

उपचारका क्रममा १५ दिने नवजात शिशुको मृत्यु भएपछि वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल तनावग्रस्त बनेको छ । शिशुको मृत्यु चिकित्सक तथा स्वास्थ्यकर्मीको लापरबाहीका कारण भएको आरोप लगाउँदै परिवारजनले दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गर्न थालेपछि अस्पताल तनावग्रस्त बनेको हो ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २२ मदिलवा टोलका शिशुको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्त तथा स्थानीयवासीले अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका हुन् ।

जन्डिसको समस्या देखिएपछि कात्तिक २९ गते अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत शिशुलाई मंगलबार डिस्चार्जको प्रक्रिया चलिरहेका बेला सुई लगाए लगत्तै शिशु छटपटाउन थालेको र त्यसपछि मृत्यु भएको परिवारजनको आरोप छ ।

आक्रोशित आफन्तजनले अस्पताल प्रशासनसँग सीसीटीभी फुटेज सार्वजनिक गर्न र घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । दोषीमाथि कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले अस्पताल परिसरमा तनाव बढेपछि सम्भावित अप्रिय घटना हुन नदिन प्रहरी परिचालन गरिएको जानकारी दिए  । दुवै पक्षबिच वार्ताको पहल भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *