चितवनले काठमान्डुलाई दियो २०५ रनको लक्ष्य

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद सुचना/प्रबिधि स्वास्थ्य

कमिल मिसराको कीर्तिमानी शतकीय इनिङ्समा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई जितका लागि २०५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०४ रन बनाएको हो ।

चितवनका लागि श्रीलङ्काली ब्याटर मिसराले ५९ बलमा अविजित १२० रन बनाए  । उनको इनिङ्समा पाँच चौका र १० छक्का समावेश थिए । उहाँले २०३.३९ को स्ट्राइक रेटमा ब्याटिङ गरे ।

मिसराले ३३ बलमा अर्धशतक पूरा गरेका थिए  । त्यसपछि आक्रामक ब्याटिङलाई निरन्तरता दिँदै उनले ५३ बलमा शतक बनाए  । १४औँ ओभरमा सोनु देवकोटाको बलमा लगातार तीन छक्का प्रहार गर्दै उनले आफ्नो आक्रामक शैली देखाएका  थिए ।

मिसराको १२० रन एनपिएल इतिहासकै उच्च व्यक्तिगत स्कोर हो । उनले गत सिजन कर्णाली याक्सका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध बनाएको अविजित ११४ रनको कीर्तिमान तोडेका हुन  । मिसरा एनपिएलमा शतक बनाउने पाँचौँ खेलाडीसमेत बनेका छन् ।

यसअघि एन्ड्रिज गौस, मार्क वाट, एडम रोसिङ्टन र युवराज सामराले शतक बनाउनुभएको थियो । शतक बनाउने पाँचै जना विदेशी खेलाडी हुन् । चौथो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान रवि बोपाराले मिसरालाई साथ दिए  । दुवै ब्याटरले तेस्रो विकेटका लागि १५४ रनको साझेदारी गर्दै चितवनको इनिङ्सलाई बलियो अवस्थामा पुर्‍याए  ।

बोपाराले ४२ बलमा तीन चौका र दुई छक्कासहित ५३ रन बनाए  । बलिङतर्फ काठमान्डुका लागि करण केसी र राशिद खानले समान दुई–दुई विकेट लिए  ।

एलिमिनेटरको विजेताले बिहीबार हुने दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *