हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न प्राधिकरणलाई अनुमति

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि

नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे–अहेड तथा रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न अनुमति दिएको हो ।

प्राधिकरणले मंसिर १ गतेदेखि २०८४ साल साउन १५ गतेसम्म विद्युत् आयात गर्न पाउनेछ । अनुमति अनुसार बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मबाहेक अन्य समयमा आईएक्सबाट विद्युत् आयात गर्न सकिनेछ ।

कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया १३२ केभी प्रसारण लाइनमार्फत ५० मेगावाट गरी कुल ३५० मेगावाट विद्युत् आयात गर्न सकिनेछ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भारतबाट विद्युत् आयातको अनुमति प्राप्त भएकाले आगामी हिउँदयाममा माग र आपूर्तिको व्यवस्थापन गर्न सहज हुने बताए  ।

रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा ४३१ मेगावाट जडित क्षमताका आयोजनाहरू राष्ट्रिय विद्युत् प्रणालीबाट विच्छेद भएका छन् । यस अवस्थासमेतलाई ध्यानमा राखेर आगामी हिउँदयामको विद्युत् माग र आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको कार्यकारी निर्देशक श्रेष्ठले बताए  ।

गत वर्षको विद्युत् माग र उत्पादनको अवस्थाका आधारमा गरिएको विश्लेषणअनुसार यस वर्ष पुस, माघ, फागुन र चैत गरी चार महिनासम्म आन्तरिक उत्पादनभन्दा विद्युत् माग बढी हुने अनुमान गरिएको छ । त्यस अवधिमा भारतबाट विद्युत् आयात गर्नुपर्ने प्राधिकरणको आकलन छ ।

विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने अनुमान छ । त्यस्तै, उच्च माग हुने समयमा दैनिक ८०० देखि ९०० मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने अवस्था आउन सक्ने आकलन गरिएको छ । पुस र चैतमा भने तुलनात्मक रूपमा कम विद्युत् आयात गरे पुग्ने अनुमान छ ।

आगामी वैशाखदेखि नदीहरूमा पानीको बहाव क्रमशः बढ्दै जाने भएकाले आन्तरिक विद्युत् उत्पादन वृद्धि हुने र भारतबाट हुने आयात प्रतिस्थापन हुँदै पुनः विद्युत् निर्यात सुरु हुने प्राधिकरणको अपेक्षा छ ।

यसैबीच, नेपाल विद्युत् प्राधिकरणले तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) मा बिक्री गर्न पनि अनुमति पाएको छ । प्राधिकरणले मंसिर १ गतेदेखि २०८४ साल साउन १५ गतेसम्म उक्त विद्युत् निर्यात गर्न पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *