नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) का ९ जना कर्मचारी अहिले प्रहरी हिरासतमा छन् । उनीहरूविरुद्ध संस्थानको १२ करोड १३ लाख ४३ हजार ५ सय ३० रुपैयाँ हिनामिना गरेको आरोप लगाइएको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुरूमा कात्तिक १३ गते संस्थानका तत्कालीन महाप्रबन्धक तथा वर्तमान प्रशासन तथा व्यवस्थापन विभागका प्रमुख सञ्जीव झासहित ८ जनालाई पक्राउ गरेको थियो ।
उनीहरूलाई आपराधिक विश्वासघात गर्न नहुने कसुर र संगठित अपराध निवारण ऐनअन्तर्गतको कसुरमा छानबिन गर्न भन्दै सीआईबीले जिल्ला अदालत काठमाडौंको अनुमतिमा थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।
झासहितको बयानपछि सीआईबीले यही कात्तिक २७ गते मात्रै विराटनगर दुग्ध वितरण आयोजना प्रमुख नवीनकिशोर शर्मालाई समेत पक्राउ गरेको छ । उनीविरुद्ध पनि अघिल्ला ८ जनालाई लगाइएको कसुरमै अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
सीआईबीले तत्कालीन महाप्रबन्धक झा, शर्मासँगै जुनियर टेक्निकल असिस्टेन्ट विजयकुमार यादव, जुनियर टेक्निकल असिस्टेन्ट मनहरि शर्मा, जुनियर टेक्निकल असिस्टेन्ट रामकेवल राय, बागमती धुलो दूध कारखानामा भरपाई पदका कर्मचारी जितेन्द्रकुमार यादव, गरुडा दूध चिस्यान केन्द्र इन्चार्ज नवीन राय यादव, माडी चिस्यान केन्द्रमा कार्यरत शिवनन्दन यादव र माडी चिस्यान केन्द्रका इन्चार्ज बिखबहादुर भण्डारीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
के हो डीडीसी प्रकरण ?
किसानका फार्मबाटै कर्मचारीका नाममा रकम बुझेको अनुसन्धानबाट खुलेपछि सीआईबीले झासहितलाई पक्राउ गरेर अनुसन्धान थालेको जानकारी सीआईबीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमाप्रसाद चतुर्वेदीले दिए ।
‘सीआईबीमा उजुरी परेपछि हामीले डीडीसीको केन्द्रीय कार्यालय लैनचौर र काठमाडौं दुग्ध कार्यालय बालाजुमा छापा मारेर कागजात नियन्त्रणमा लियौँ । प्रारम्भिक अनुसन्धान गर्दा १२ करोड बढी अपचलन भएको तथ्य खुल्यो,’ चतुर्वेदीले लोकान्तरसँग भने, ‘त्यसपछि मात्रै हामी डीडीसीका अधिकारीहरू पक्राउ गर्ने निष्कर्षमा पुगेर उनीहरूलाई नियन्त्रणमा लिएका हौँ ।’ चतुर्वेदीका अनुसार किसानबाट संकलन भएको दूधका लागि संस्थानबाट भुक्तानी भएको रकममध्ये केही हिस्सा डीडीसीकै कर्मचारीको खातामा गएको देखिएको छ । त्यति मात्रै होइन, किसानले पाउनुपर्नेभन्दा बढी मूल्य भुक्तानी गर्ने र पछि केही रकम आफ्नै खातामा ल्याउने गरिएको तथ्य बरामद कागजातबाट खुलेको सीआईबीका अनुसन्धान अधिकृतले बताए ।
डीडीसीका कर्मचारीले चलाखीपूर्ण तवरबाट १७ वटाभन्दा बढी कृषि तथा पशुपालन सहकारीबाट रकम बुझेको सीआईबीको अनुसन्धानबाट खुलेको छ । यसरी अनधिकृत रूपमा बुझेको रकम तत्कालीन महाप्रबन्धक झासम्म पुगेको सीआईबीले जनाएको छ । सीआईबीले चार महिनासम्म संस्थान र कार्यालयको कागजातमाथि सूक्ष्म अध्ययन गरेर मात्रै कर्मचारी पक्राउ गर्ने र संगठित अपराधमा मुद्दा चलाउने निष्कर्षमा पुगेको थियो ।
अनुसन्धान अधिकृतका अनुसार दुग्ध तथा कृषि सहकारी संस्थाहरूले संकलन गरेर डीडीसीमा ल्याएको दूधको चिल्लो पदार्थ, दूध र पानी छुट्याएपछि बन्ने पदार्थ (एसएनएफ) हेरेर मूल्य तय हुँदै आएको थियो । तर, कर्मचारीले एसएनएफका बारेमा किसान र सहकारीलाई तथ्यगत जानकारी नदिइकनै रकम भुक्तानी गर्दै आएका थिए । त्यति मात्रै होइन, डीडीसीका कर्मचारीले एसएनएफ बढाएर आफूहरूले रकम भुक्तानी गरेको भन्दै किसान र सहकारीलाई तिरिसकेको रकम फिर्ता लिने गरेको सीआईबीको अनुसन्धानले देखाएको छ ।
सीआईबीका अनुसार भैरवपुर भैँसीपालन पशुपन्छी फार्ममार्फत आएको एक हजार लिटर दूधमा समस्या भयो भन्दै तर्साएर समेत पैसा असुली गरेको तथ्य अनुसन्धानबाट खुलेको छ । कर्मचारीले फार्म सञ्चालकलाई ‘नआत्तिनुस् हामी जसरी पनि मिलाउँछौँ, तर केही पैसा खर्च हुन्छ’ भन्दै रकम असुली गरेको सीआईबीको दाबी छ ।
सीआईबीले गरेको अनुसन्धानमा १७ वटाभन्दा बढी कृषि फार्मबाट डीडीसीका कर्मचारीले रकम बुझेको पाइएको छ । सुशान्त पशुपालन केन्द्र, लालीगुराँस पशुपालन फार्म, एमएनएमबी भैँसीपालन तथा कृषि फार्म, सिर्जना पशुपालन तथा कृषि फार्म, जयनरी पशु विकास फार्म, सक्रिय महिला दुग्ध उत्पादन सहकारी संस्था, सर्लाही एकीकृत कृषि तथा पशुपन्छी फार्म, सर्लाही डेरी उद्योग, जयप्रिय कृषि तथा सहकारी संस्था लिमिटेड, अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, जोरपाटी दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडबाट डीडीसीका कर्मचारीले रकम बुझेको सीआईबीले जनाएको छ ।
त्यस्तै, सिम्ले दुग्ध खरिदबिक्री फार्म, राप्ती हरियाली दुग्ध उत्पादन सहकारी संस्था लिमिटेड, सर्लाही कृषि तथा पशुपन्छी फार्म, पन्त पशुपालन फार्म, सोडारी गाई फार्म, भैरवपुर भैँसीपालन पशुपन्छी फार्मबाट पनि कर्मचारीहरूले रकम बुझेको अनुसन्धानबाट खुलेको छ ।
सीआईबीका अनुसार लालीगुराँस पशुपालन फार्मबाट मात्रै कर्मचारीको खातामा ४ करोड ४२ लाख रुपैयाँ आएको छ । दुर्घटनामा मृत्यु भएका रितेश राय यादवको खातामा लालीगुराँस पशुपालन फार्मबाट १ करोड ८६ लाख, भैरवपुर भैँसीपालन पशुपन्छी फार्मबाट मात्रै रितेशका नाममा ६९ लाख ११ हजार र रितेशको खातामा कृषि फार्महरूबाट २ करोड ७८ लाख जम्मा भएको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।
हाल पक्राउ परेका रामकेवल राय (दुग्ध वितरण आयोजना बालाजुमा जुनियर टेक्निकल असिस्टेन्टमा कार्यरत) ले आफ्ना छोरा जितेन्द्रलाई डीडीसीमै राखेका थिए ।
जितेन्द्रको खातामा किसानले २७ लाख रुपैयाँ जम्मा गरिदिएको अनुसन्धानबाट खुलेको छ । रामकेवलले समेत विभिन्न कृषि फार्महरूबाट १ करोड १४ लाख रुपैयाँ बुझेको सीआईबीले जनाएको छ ।
जुनियर प्राविधिक सहायकका रूपमा कार्यरत मनहरि शर्मा (हाल सीआईबीको हिरासतमा) को खातामा कृषि फार्महरूबाट १ करोड १५ लाख रुपैयाँ जम्मा भएको अनुसन्धानले देखाएको छ । उनको खातामा जोरपाटी दुग्ध उत्पादन संस्था भरतपुरबाट पैसा आएको थियो ।
अर्का जुनियर प्राविधिक सहायक विजयकुमार यादव (हाल सीआईबीको हिरासतमा) ले ‘सिम्ले दुग्ध खरिदबिक्री फर्म’बाट ४६ लाख १३ हजार रकम अवैध रूपमा बुझेको सीआईबीले जनाएको छ ।
डीडीसीमै कार्यरत शिवनन्द रायले दैनिक पारिश्रमिकका नाममा विभिन्न कृषि फार्मबाट १ करोड ६९ लाख लिएको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका अर्का आरोपी नवीन राय यादवले विभिन्न कृषि फार्मबाट १ करोड ९३ लाख लिएको अनुसन्धानबाट खुलेको छ ।
साभारः लाेकान्तर ।
