चर्चित टिभी प्रस्तोता राबियाको मृ`त्यु, अनुसन्धानको घेरामा श्रीमान्

अन्तराष्ट्रिय मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

पाकिस्तानकी चर्चित टेलिभिजन प्रस्तोता राबिया अहसनको गोली लागेर मृत्यु भएको छ। रावलपिंडीस्थित आफ्नै घरमा आइतबार उनी मृत भेटिएकी हुन्। घटनापछि प्रहरीले उनका श्रीमान् अहसन ताहिरलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ।

४१ वर्षीया राबिया आइतबार दिउँसो करिब ३ बजे (स्थानीय समय) घरको शयनकक्षमा थिइन्। त्यसबेला उनकी आमा र बहिनी घरको बगैंचामा थिए।

गोली चलेको आवाज सुनेपछि उनकी बहिनी शयनकक्षमा पुग्दा राबिया रगतले लतपतिएको अवस्थामा भुइँमा लडिरहेकी थिइन्। प्रहरीले उनको घाँटीमुनि गोली लागेको जनाएको छ।

घटनास्थलबाट प्रहरीले .३० बोरको पेस्तोल र गोली बरामद गरेको थियो। प्रहरीका अनुसार अहसनले सुरुमा गोली दुर्घटनावश चलेको दाबी गरेका थिए। तर उनले हतियारको वैध लाइसेन्स देखाउन नसकेको बताइएको छ।

राबियाका भाइ खुर्रम अहमदको उजुरीपछि उनका श्रीमान्विरुद्ध हत्याको मुद्दा दर्ता गरिएको थियो। सोमबार उनलाई अदालतमा उपस्थित गराइएपछि थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्न अनुमति दिइएको छ।

यद्यपि, राबियाका भाइले पछि गोली दुर्घटनावश चलेको हुन सक्ने भन्दै मुद्दा फिर्ता लिने इच्छा व्यक्त गरेका छन्। तर मुद्दा फिर्ता लिने वा नलिने विषयमा अन्तिम निर्णय अदालतले गर्ने प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। घटनास्थलबाट बरामद हतियार र अन्य प्रमाणको फोरेन्सिक जाँच पनि भइरहेको छ।

राबिया पाकिस्तानी टेलिभिजन च्यानल ९२ न्युजसँग आबद्ध परिचित प्रस्तोता थिइन्। उनका दुई छोरी छन्।

उनको मृत्युले पाकिस्तानको सञ्चार क्षेत्र र राजनीतिक वृत्तमा पनि चर्चा पाएको छ। पाकिस्तानकी प्रथम महिला आसिफा भुट्टो-जरदारीले घटनाप्रति दुःख व्यक्त गर्दै सत्यतथ्य पत्ता लगाउन निष्पक्ष र पारदर्शी अनुसन्धान गर्न माग गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *