तिहारको महत्व

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

दसैँपछिको ठुलो र महत्वपूर्ण चाड तिहार हो । कात्तिक महिनाको कृष्ण पक्ष त्रयोदशीदेखि शुक्ल पक्ष द्वितीयासम्म पाँच दिन मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । उज्यालो, रङ्गीचङ्गी फूल र उत्साहको यो पर्वले मानिस, प्रकृति, जीवजन्तु र दिदीबहिनी–दाजुभाइबिचको प्रेमलाई जोड्ने काम गर्छ ।

धर्मशास्त्र अनुसार मृत्युका देवता यमराज आफ्नी बहिनी यमुनाको निमन्त्रणा स्वीकार गरी पाँच दिनसम्म बहिनी कहाँ बसेका थिए । यमुनाले दाजु यमराजलाई श्रद्धापूर्वक पूजा गरी अकाल मृत्यु नहोस् र दीर्घायु होस् भन्ने कामना गरिन् ।

यमराजले आफ्नी बहिनीको सम्मान र भक्तिबाट प्रसन्न भई भाइटीका लगाउने दाजुभाइको कहिल्यै अकाल मृत्यु नहुने र सधैँ उन्नति हुने वरदान दिएका थिए । त्यही पौराणिक घटनाको सम्झनामा प्राचीन कालदेखि नै भाइटीका र यमपञ्चक मनाउने परम्परा चलेको विश्वास गरिन्छ ।

यसका साथै त्रेतायुगमा भगवान् श्रीराम रावणमाथि विजय प्राप्त गरेर फर्कंदा अयोध्यावासीले खुसियालीमा घर घरमा दीप बालेर स्वागत गरेको इतिहाससँग पनि दीपावलीको गहिरो सम्बन्ध छ ।

तिहारका पाँचै दिनको ऐतिहासिक, धार्मिक र व्यावहारिक महत्व रहेको छ । पहिलो दिन यमराजको सन्देशवाहक मानिने कागको पूजा गरिन्छ । दोस्रो दिन मानिसको सबैभन्दा इमानदार साथी मानिने कुकुरको पूजा गरी उसको योगदानको कदर गरिन्छ । तेस्रो दिन सुख, शान्ति र समृद्धिकी देवी लक्ष्मीको पूजा गरी घर घरमा दीप जलाइन्छ ।

चौथो दिनआज कृषिप्रधान देशमा खेत जोत्न मद्दत गर्ने गोरु र प्रकृतिको रूपमा गोबर्धन पर्वतको पूजा गरिन्छ । अन्तिम दिन भाेलि भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु, स्वास्थ्य तथा प्रगतिको कामना गर्दै सप्तरङ्गी टीका र मखमलीको माला लगाइदिन्छन् ।

धार्मिक पूजा पाठमा मात्र सीमित नभएर तिहारको सामाजिक महत्व पनि उत्तिकै उच्च छ । घरआँगन सफा गरेर रङ्गोली बनाउने, झिलिमिली बत्ती बाल्ने र देउसी भैलो खेल्ने परम्पराले समाजमा एकता कायम गर्छ । यस पर्वले मानिसलाई प्राणीहरूप्रति दयालु बन्न र परिवारका सदस्यहरू बिचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सिकाउँछ ।

साभारःमुना, गाेरखापत्र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *