अर्णव चक्रवातको असर सुरु

Lifestyle अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

अर्णव चक्रवातको असरबाट नेपालमा वर्षा र हिमपात सुरु भएको छ । कोशी र तराई भेगमा भएको वर्षासँगै यसको असर नेपालमा पर्न थालेको हो । बङ्गालको खाडीमा अर्णव चक्रवात विकसित भएको थियो । भारतको आन्ध्र प्रदेश र विशाखापट्टनम नजिक बनेको न्यूनचापीय प्रणालीका रूपमा विकसित यसको असर भारतका विभिन्न स्थान हुँदै बिहीबार नेपाल प्रवेश गरेको हो ।

नेपालसम्म आइपुग्दा केही कमजोर भएकाले तीव्र हावाहुरीको जोखिम कम भएको छ तर भारी वर्षा, हिमपात र मध्यम हावाहुरीको सम्भावना कायम रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ । चक्रवातको सम्भावित असरलाई मध्यनजर गर्दै सरकारले जोखिम न्यूनीकरण, जनधनको रक्षा र अत्यावश्यक सेवाहरूको चुस्त सञ्चालनका लागि मातहतका सम्पूर्ण निकायलाई उच्च सतर्कतासाथ तयारी अवस्थामा राखेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

सम्भावित मौसमी जोखिम र विपत्बाट सर्वसाधारणलाई सुरक्षित राख्न सुरक्षा निकायहरूले ठाउँ ठाउँमा माइकिङमार्फत सचेतना फैलाइरहेका छन् । पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण सङ्घले जोखिम क्षेत्रमा पदयात्रा तथा पर्वतारोहण तत्कालका लागि स्थगन गर्न भनेको छ । यात्रामा निस्कनुअघि आधिकारिक मौसम पूर्वानुमान अध्यावधिक गरेर मात्र यात्रामा जान पनि आग्रह गरेको छ ।

हवाई सुरक्षालाई उच्च प्राथमिकता दिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालन, हवाई ट्राफिक व्यवस्थापन, धावनमार्ग निरीक्षण, वैकल्पिक उडान योजना तथा सञ्चार र विद्युत् प्रणालीलाई पूर्ण तयारी अवस्थामा राख्न कडा निर्देशन दिएको छ ।

यसै गरी विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले पनि आफ्नो क्षेत्रको सम्भावित जोखिम मूल्याङ्कन गरी पूर्वतयारी र सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन् । नागरिकलाई कुनै पनि प्रकारका भ्रामक अफवाहको पछि नलागी आधिकारिक निकायबाट जारी हुने सूचनामा मात्र विश्वास गर्न र मौसम पूर्वानुमानका आधारमा आवश्यक सजगता अपनाउँदै सुरक्षित रहन सरकारले विशेष अपिल गरेको छ ।

अर्णवको गति थोरै सुस्तियो

अर्णवको न्यूनचापीय प्रणालीको गति अनुमानभन्दा थोरै सुस्त भएको छ । तथापि वर्षा र हिमपातको असर कम हुने सम्भावना छैन । छत्तिसगढ, आन्ध्र  प्रदेश र उत्तर प्रदेश आसपास त्यो प्रणाली रहेको छ । यसका कारण बिहानदेखि पूर्वी नेपालमा सुरु भएको सिमसिम वर्षा बिहीबार साँझसम्म कोशी प्रदेशमै सीमित रहेको थियो । मौसम पूर्वानुमान महाशाखाले पाँच दिनको मौसमी विवरण सार्वजनिक गर्दै शुक्रबार अत्यधिक र शनिबार त्योभन्दा थोरै कम प्रभाव रहने प्रस्ट पारेको छ ।

बिहीबार राति कोशी, बागमती र गण्डकी प्रदेशका  हिमाली र पहाडी भूभागका केही स्थानमा भारी वर्षा, हिमपात हुने जनाइएको छ । मौसमविद् हरिप्रसाद दाहालका अनुसार मधेश प्रदेश तथा  बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईमा केही स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको छ । काठमाडौँ उपत्यकामा पनि बिहीबार रातिदेखि हल्का हावासहित वर्षा सुरु भएको छ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्ने छ ।

आइतबारदेखि सुधारोन्मुख

आइतबारदेखि भने मौसम सुधारोन्मुख रहने छ । देशभर आंशिक बादल लाग्ने तथा हिमाली र पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमपात हुने छ ।  चिसो बढाउँदै तराई, काठमाडौँ उपत्यका तथा खोँचहरूमा बिहानपख हुस्सु र कुहिरो लाग्ने जनाइएको छ । सोमबार अझ सुधार हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *