पृथ्वी राजमार्गमा बस, ट्रक र माइक्रोबस ठोक्किए, १० जना घाइते

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित पृथ्वी राजमार्गमा बस, ट्रक र माइक्रोबस एकआपसमा ठोक्किँदा कम्तीमा १० जना घाइते भएका छन्।  दुर्घटनाका  घाइते भएकाहरूलाई स्थानीय अस्पताल र सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा लगेर उपचार भैरहेको र उनिहरू सबैको अवस्था सामान्य रहेको प्रहरिले जनाएकाे छ ।

सर्लाहीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रोबस दुर्घटनामा परेका हुन्।

प्रहरीचौकी कुरिनटारबाट प्राप्त विवरणअनुसार विपरीत दिशाबाट आइरहेको बसले माइक्रोबसलाई ठक्कर दिएपछि अनियन्त्रित भएर ट्रकसँग पनि ठोक्किएको थियो। दुर्घटनामा बस र माइक्रोबसमा सवार यात्रु घाइते भएका छन्।

घाइतेमध्ये पाँच जनाको पहिचान खुलेको छ। घाइते हुनेमा बाराको निजगढका ४२ वर्षीय कुमार जोशी, नवलपुरको कावासोती नगरपालिका–३ का ३८ वर्षीय खेमबहादुर गुरुङ र ४२ वर्षीय मुराबहादुर कुमाल रहेका छन्। जोशीको टाउकोमा चोट लागेको छ भने गुरुङ र कुमालको दायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

त्यस्तै, झापाको दमक नगरपालिका–३ की ४८ वर्षीया कल्पना पोखरेल र बिर्तामोड नगरपालिका–५ का २२ वर्षीय रोमन भट्टराई पनि घाइते भएका छन्। पोखरेलको शरीरमा बाहिरी चोट नदेखिएको र भट्टराईको दायाँ आँखामाथि चोट लागेको जनाइएको छ। अन्य घाइतेहरूको विवरण खुल्न बाँकी छ।

दुर्घटनापछि घाइतेहरूको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ६६ जनाको टोली परिचालन गरिएको थियो। घाइतेहरूलाई इच्छाकामना आधारभूत अस्पताल तथा कुरिनटारस्थित सशस्त्र प्रहरी बलको पृथ्वी हाईवे ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ।

दुर्घटनाका कारण पृथ्वी राजमार्गको धारापानी खण्डमा यातायात आवागमन प्रभावित भएको छ। प्रारम्भिक विवरणमा सडक पूर्ण रूपमा अवरुद्ध भएको उल्लेख भए पनि प्रहरीको पछिल्लो विवरणमा एकतर्फी आवागमन प्रभावित भएको जनाइएको छ। सवारी आवागमन सहज बनाउन सुरक्षाकर्मी परिचालन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *