रियादमा हुथी आक्रमणमा तीन नेपालीसहित ११ जना घाइते

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति समाचार स्वास्थ्य

साउदी अरबको राजधानी रियादस्थित वित्तीय केन्द्रको एक अग्लो भवनमा हुथी विद्रोही समूहले गरेको आक्रमणमा परी तीन नेपालीसहित ११ जना घाइते भएका छन्।साउदी अरबको सरकारी समाचार संस्था साउदी प्रेस एजेन्सी (एसपीए) का अनुसार मंगलबार (नोभेम्बर २४) वित्तीय केन्द्रस्थित एक भवनलाई लक्षित गरी आक्रमण गरिएको थियो।

आक्रमणमा दुई साउदी नागरिक, दुई भारतीय, तीन नेपाली र चार इजिप्सियन नागरिक घाइते भएका छन्। साउदी नागरिक सुरक्षा निकाय (सिभिल डिफेन्स) ले घटनाको पुष्टि गर्दै घाइतेहरूको राष्ट्रियतासहितको विवरण सार्वजनिक गरेको हो। घटनालगत्तै सम्बन्धित सुरक्षा तथा उद्धार निकाय परिचालन गरिएको र मानवीय क्षति तथा सम्पत्तिको सुरक्षाका लागि आवश्यक सबै प्रक्रिया अपनाइएको सिभिल डिफेन्सले जनाएको छ।

यमनमा सक्रिय हुथी विद्रोही समूहलाई लक्षित गर्दै साउदी नेतृत्वको गठबन्धन सेनाका प्रवक्ता मेजर जनरल तुर्की अल मल्कीले रियादको वित्तीय केन्द्रस्थित एक टावरमा ‘कायरतापूर्ण आतंकवादी आक्रमण’ भएको बताएका छन्।घटनास्थलमा सम्बन्धित निकायले अनुसन्धान गरिरहेको उनले जानकारी दिएका छन्। यो एक साताभित्र रियादको वित्तीय केन्द्रस्थित सोही भवनमा भएको दोस्रो आक्रमण हो।

यसअघि गत नोभेम्बर १९ मा पनि उक्त भवनलाई लक्षित गरी आक्रमण भएको थियो। त्यसबेला भवनमा भौतिक क्षति पुगे पनि कुनै मानवीय क्षति भएको थिएन। आक्रमणको निशानामा परेको भवन साउदी अरबको सार्वजनिक लगानी कोष (पब्लिक इन्भेस्टमेन्ट फन्ड–पीआईएफ) को मुख्यालय रहेको अग्लो टावर हो।

आक्रमणमा घाइते भएका नेपालीको नाम, ठेगाना, कार्यरत कम्पनी र स्वास्थ्य अवस्थाबारे भने साउदी अधिकारीले विस्तृत विवरण सार्वजनिक गरेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *