बुटवल–गोरुसिङ्गे सडक विस्तार आयोजनाअन्तर्गत वन क्षेत्रको सडक कालोपत्रे गर्ने तयारी गरिएको छ । सडक विस्तारको कामले गति लिएसँगै पहिलो चरणमा करिब १८ किलोमिटर वन क्षेत्रको सडक कालोपत्रे गर्न लागिएको हो । आयोजनाअन्तर्गत अहिले सडकमा बेसको पहिलो तह बिछ्याउने काम सम्पन्न गरी दोस्रो तह राख्ने तयारी भइरहेको छ । दोस्रो तहको काम पूरा भएपछि कालोपत्रे सुरु गरिने बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक आयोजना कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलले बताए ।
योजनाअनुसार कपिलवस्तुको गोरुसिङ्गे–बुड्ढी वन क्षेत्रमा २.८ किलोमिटर, गोरुसिङ्गे–बनगाई वन क्षेत्रमा ७.५ किलोमिटर र पिपरा वन क्षेत्रमा २.७ किलोमिटर सडक कालोपत्रे गरिनेछ । यस्तै, रुपन्देहीको सालझण्डी र फायरलाइन वन क्षेत्रमा पाँच किलोमिटर सडक कालोपत्रे गर्ने तयारी छ । वन क्षेत्रको यी खण्डमा करिब १८ किलोमिटर सडक कालोपत्रे भएपछि यात्रामा सहजता आउने र सडक विस्तार आयोजनाको कामले थप गति लिने अपेक्षा गरिएको छ ।
अहिले बुड्ढी वन क्षेत्रमा पेभर उपकरण प्रयोग गरी बेस बिछ्याउने काम अन्तिम चरणमा पुगेको छ । उक्त क्षेत्रमा बेसको पहिलो तह राखिसकिएको र दोस्रो तह राख्ने तयारी भइरहेको छ । दोस्रो तहको काम पूरा भएपछि बुड्ढी वन क्षेत्रबाटै कालोपत्रे सुरु गरी अन्य क्षेत्रमा बेस बिछ्याउने काम अघि बढाइने योजनाका इन्जिनियर जीगेशप्रसाद चौधरीले बताए ।
आयोजनाको हालसम्म समग्र भौतिक प्रगति ३० प्रतिशत पुगेको छ । कल्भर्ट निर्माणको काम ६५ प्रतिशत र पुल निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ । कपिलवस्तुको बलहुन्द्रा खोला, हरकुर खोला, ड्राइ नाला र बुड्ढी नजिकको खोलामा पुल निर्माण सम्पन्न भएको छ । यस्तै, रुपन्देहीको सतगढी, मेधवा, मर्थिहवा र सालझण्डी बजारका खोलामा पनि पुल निर्माण सकिएको निर्माण कम्पनी सान्सी आशिष जेभीका इन्जिनियर रोहित भट्टराईले बताए ।
निर्माण कार्यमा केही अवरोध देखिएको छ । रुपन्देही क्षेत्रमा नदीजन्य निर्माण सामग्रीको अभाव र कपिलवस्तुको बजार क्षेत्रमा रहेका विद्युत् पोल नहटाइँदा सडक निर्माण प्रभावित भएको छ । यसअघि असार मसान्तसम्म कालोपत्रे गर्ने लक्ष्य राखिए पनि बिटुमिन अभावका कारण काम अघि बढ्न सकेको थिएन ।
अमेरिका–इरान युद्धका कारण बिटुमिनको मूल्य बढेपछि त्यसको अतिरिक्त लागत सरकारले शोधभर्ना गर्ने निर्णय गरेको थियो । सो निर्णयपछि निर्माण पक्षले बिटुमिनको व्यवस्था गरेसँगै कालोपत्रेको काम सुरु गर्ने तयारी भएको हो । वन क्षेत्रको सडक कालोपत्रे हुन थालेसँगै लामो समयदेखि निर्माणाधीन बुटवल–गोरुसिङ्गे सडक विस्तारले गति लिने र यात्रुले भोग्दै आएको धुलो तथा हिलोको समस्या क्रमशः कम हुने अपेक्षा गरिएको छ ।
