अत्यन्तै जोखिममा रहेका नेपालका चार वटा हिमतालको जोखिम न्यूनीकरण गर्न सरकारले ग्लफ सञ्जिवनी आयोजना सुरु गरेको छ । ग्रिन क्लाइमेट फण्डको आर्थिक सहयोगमा जोखिमका रहेका चार वटा तालको जोखिम न्यूनीकरणसँगै हिमाली समुदायहरूलाई हिमनदीजन्य बाढीको जोखिमबाट जोगाउन नेपालद्वारा ४ करोड ९९ लाख ४० हजार अमेरिकी डलरको आयोजनाको आज बुधबार शुभारम्भ गरिएको छ ।
उच्च जोखिममा रहेका चार वटा हिमताल डोना, लुमडिङ त्सो, होङ्गु र तल्लो बरुणमा रहेको पानी सतह घटाउने काम सो आयोजनाले गर्ने भएको छ । मनाङको नासो गाउँपालिकामा रहेको डोना हिमताल, सोलुखुम्बुमा रहेको लुमडिङ त्सो र होङ्गु हिमतालको पानी तीन/तीन मिटर घटाउने र सङ्खुवासभामा रहेको तल्लो बरुण हिमतालको पानी एक मिटर घटाउने काम गर्ने भएको शुभारम्भ कार्यक्रममा जानकारी दिइयो ।
उच्च जोखिमका रहेका हिमतालबाट प्रभावित हुने तल्लो तटीय क्षेत्रका तीन लाख ८५ हजारभन्दा बढी स्थानीयको जीवन रक्षाका लागि नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमद्वारा ग्लोफ सञ्जीवनी आयोजना सुरु गरिएको हो । नेपाल सरकारले यस अघि पनि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमसँगको सहकार्यमा इम्जा र च्छोरोल्पा हिमतालको जोखिम न्यूनीकरण गर्ने काम सम्पन्न गरिसकेको छ । ती तालको तीन मिटर पानीको सतह घटाइ तल्लो तटीय क्षेत्रमा पूर्व सूचना प्रणाली विकास गरिएको छ ।
आयोजनाले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका हिमाली समुदायहरूलाई हिमताल फुट्दा हुन सक्ने सम्भावित क्षति, हानी र नोक्सानीबाट बचाउने उद्देश्यले आयोजना सुरु गरेको आयोजनाका राष्ट्रिय निर्देशक डा. राजन भट्टराईले जानकारी दिए ।
शुभारम्भ कार्यक्रममा ग्रिन क्लाइमेट फन्डबाट तीन करोड ६१ लाख ६० हजार अमेरिकी डलर अनुदान प्राप्त भएको जानकारी उहाँले दिनुभयो । आयोजना सञ्चालनका लागि नेपाल सरकारबाट एक करोड १३ लाख २० हजार अमेरिकी डलर, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडिपि) बाट २१ लाख ४० हजार अमेरिकी डलर र निजी क्षेत्रका साझेदारहरूबाट तीन लाख २० हजार अमेरिकी डलर सहलगानी जुटाइएको जानकारी दिइयो । आयोजना सन् २०२६ देखि २०३३ सम्म सञ्चालन हुने जानकारी संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम जलवायु विशेषज्ञ दिपक केशीले दिए ।
आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने तीन लाख ८५ हजारभन्दा बढी स्थानीय व्यक्ति मध्ये ५५ प्रतिशत महिला हुने छन् । जोखिमका रहेका चार वटा तालका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने करिब २० लाख घरपरिवार सुरक्षित हुने अपेक्षा गरिएको छ ।
सो आयोजना ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र मार्फत कार्यान्वयन हुने भएको छ । आयोजनाको सम्पन्न गर्नुपर्ने कामहरु धेरै निकायका कामसँग सम्बन्धित भएकाले सो केन्द्रका साथसाथै कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत रहेको चुरे तथा अति संवेदनशील जलाधार संरक्षण विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पनि सहकार्य हुने भएको छ । त्यस बाहेक कतिपय कामहरु नेपाल पर्यटन बोर्ड र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मार्फत हुने डा. भट्टराईले जानकारी दिए । आयोजना कार्यान्वायनमा सङ्घीय सरकारका निकाय, प्रदेश सरकार र स्थानीय तहको प्रत्यक्ष सहभागिता रहने छ ।
शुभारम्भ कार्यक्रममा उच्च सरकारी अधिकारी, ग्रिन क्लाइमेट फन्ड र यूएनडिपिका उच्च अधिकारी, स्थानीय निकायका पदाधिकारी, प्राविधिक विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता तथा विकास साझेदारहरूको पदाधिकारीले उच्च हिमालमा काम गर्न निकै जोखिम हुने गरेकोले अनुदानमा प्राप्त आर्थिक सहयोगलाई निर्धारित समयमा खर्च गर्नुपर्ने उत्तिकै चुनौती रहेको बताए । सबै वक्ताहरुले नेपाल सरकारलाई प्राप्त यो रकमका सदुपयोग गरेर कार्वन वित्तका लागि नमूनायोग्य आयोजनाको रुपमा विकास गर्नुपर्ने सुझाव पनि दिएका छन् ।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले अर्बाैँ रुपियाँ बराबरको क्षति भोगेको नेपालले यो रकमको सदुपयोग गर्नुपर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जल तथा ऊर्जा आयोग सचिवालयका सचिव नवीनराज सिंहले बताए ।
उनले भने ‘‘यो आयोजना सञ्चालन गर्न निकै चुनौतीहरु रहेका छन् । तीन वटै सरकार, नीजि क्षेत्र र स्थानीय समुदायको सामुहिक प्रयासबाट सफल हुने भएकाले आयोजना कार्यान्वयनका चरणमा आउन सक्ने चुनौतीलाई सामुहिक रुपमा चिर्दै आयोजनालाई अवसरका रुपमा लिने गरी नेपाल सरकार काम गर्न तयार छ ।’’
ग्रिन क्लाइमेट फण्ड सचिवालयका जलवायु लगानी प्रमुख डा. बाप्पोन फखरुद्दीनले हिमाली मुलुक नेपालले जलवायु परिवर्तनको उच्च जोखिम भोगिरहेको जानकारी दिदै फण्डबाट प्राप्त आर्थिक सहयोगको सदुपयोग गर्न आग्रह गरे । आयोजनाको सफलतामा आधारमा आगामी दिनमा नेपालले पाउने आर्थिक अनुदानको स्थिति निर्धारण हुने पनि बताए ।
आयोजना कार्यान्वायनका जिम्मेवारी पाएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी प्रमुख सञ्जिव बरालले आयोजना निर्धारित समयमा सफल बनाउन सरकारले नीतिगत, संरचनागत तयारी गरिसकेको जानकारी दिए । उनले भने “पर्वतीय क्षेत्रमा भइरहेको तीव्र परिवर्तनका कारण हिमनदीजन्य तालहरू (ग्लेसियल लेकहरू) कुनै पनि बेला विस्फोट हुन सक्ने ‘टाइम बम’ जस्तै बनेका छन् । यी तालहरूमा सानो मात्रै पनि फुट्दा वा भत्किदा तल्लो तटीय क्षेत्रमा खर्बाै बराबरको क्षति हुन सक्छ । त्यसैले यी चार वटा तालको पानीको सतह घटाउने काममा सरकार तल्लिन भएर लाग्ने छ ।’’
कार्यक्रममा नेपालका लागि यूएनडिपिका आवासीय प्रतिनिधि क्योको योकोसुकाले यो आयोजनालाई यूएनडिपिले महत्वपूर्ण कामको सूचीमा राखेको जानकारी दिदै भने ‘‘ यो आयोजना नेपालका लागि रणनीतिक महत्वको आयोजना हो । यसले हामीलाई विपद्हरूको प्रतिक्रिया दिनबाट जोखिमको अनुमान गर्ने, यसलाई घटाउने र विपद् आउनु अघि विकास लगानीको सुरक्षा गर्ने अवसर दिनेछ ।’’
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी डा. धर्मराज उप्रेतीले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न हिमाल र हिमतालसँग सम्बधित पूर्वसूचना प्रणालीलाई सुदृढ पार्नुको विकल्प नरहेको बताउदै ग्लफ सञ्जिवनि आयोजना सफल पार्नु सरकारको प्राथमिकतामा रहेको जानकारी दिए ।
शुभारम्भ कार्यक्रममा आयोजनाका प्राविधिक, आर्थिक, अनुगमन लगायतका विषयमा दिपक केशी, डा. प्रेम पौडेल, डा. फिरुज, डा. मार्क टाड्रोस लगायतकाले जानकारी दिएका थिए ।
