मोरङको केराबारी गाउँपालिका– ७, दाहाल चोकनजिक शान्तिमार्ग टोलका ५० वर्षीय उत्तमकुमार लिम्बू श्रीमती हत्या आरोपमा पक्राउ परेका छन् । ४८ वर्षीया श्रीमती सञ्चमाया राई (लिम्बू)को मृत्यु भएको भन्दै उनले गत ८ असोजमा आफन्तलाई खबर गरे । मृत्यु स्वाभाविक भएको बताएपछि सामाजिक रीतिअनुसार उनको दाहसंस्कार गरियो । किरियाकर्म पनि सके । त्यसपछि आफू एक्लिएको र बिजोग भएको भन्दै अर्काकी श्रीमतीलाई घर भिœयाएर बस्न थाले । तर, पोस्टमार्टम रिपोर्टले मृत्यु स्वाभाविक नभएको खुलाएपछि लिम्बू २४ दिनपछि श्रीमती हत्या आरोपमा पक्राउ परे ।
पोस्टमार्टम रिपोर्टमा सञ्चमायाको मृत्यु स्वाभाविक नभएको भन्दै उल्लेख भएपछि घटनाको २४ दिनपछि इलाका प्रहरी बेलबारीले उत्तमलाई १ मंसिरमा पक्राउ गरेर कर्तव्य ज्यान आरोपमा अनुसन्धान अगाडि बढाएको छ । प्रहरीका अनुसार घटनाको सुरुवात ८ असोज राति पौने १२ बजेतिर भएको थियो । सञ्चमाया आफ्नै घरको सुत्ने कोठामा मृत भेटिएकी थिइन् । श्रीमतीको मृत्यु भएको भन्दै उत्तमकुमारले माइती र समाजलाई खबर गरे । स्वाभाविक मृत्यु भएको बताएपछि समाज र आफन्तले सञ्चमायाको दाहसंस्कार गरेका थिए ।
तर, मृतकका माइती पक्षलाई मृत्युको प्रकृतिमाथि चित्त बुझेन । मृत्यु भएको भनिएको परिस्थितिमाथि शंका लागेपछि उनीहरूले घटनालाई सामान्य मानेनन् र शवको कानुनी परीक्षण गर्नुपर्ने अडान लिए र प्रहरीलाई जानकारी दिए । उत्तमकुमारले शव परीक्षण गराउन मानेका थिएनन् । तर, प्रहरीले हस्तक्षेप गरेर शव परीक्षण गरेको थियो ।
सञ्चमायाका भाइ मन राईले ९ असोजमा इलाका प्रहरी कार्यालय केराबारीमा पुगेर शंकास्पद मृत्युबारे जानकारी गराए । त्यसपछि प्रहरीले अझै अनुसन्धानका दायरालाई अगाडि बढायो । त्यही क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शव परीक्षणका रिपोर्ट आयो । रिपोर्टमा मृत्युको कारण ‘कज अफ इन्जुरी’ अर्थात् घाँटी थिचेर भएको हुन सक्ने भनेको थियो । त्यसपछि इलाका प्रहरी बेलबारीले अर्कैकी श्रीमती ल्याएर घरजम सुरु गरेका उत्तमकुमारलाई श्रीमतीको हत्या आरोपमा घरबाटै पक्राउ गरेको हो ।
उत्तमकुमारले मदिरा सेवनपछि घरायसी विवाद हुँदा श्रीमतीलाई ठेलेको र लडेर केही बेरपछि मृत्यु भएको प्रहरीसमक्ष बयान दिएका छन् । तर, पोस्टमार्टम रिपोर्ट र घटनास्थलबाट संकलित प्रमाणले उनको बयानसँग मेल खाएको छैन । ‘यसैले हामीले कर्तव्य ज्यान कसुरकै कोणबाट अनुसन्धान गरिरहेका छौँ,’ इप्रका बेलबारीका प्रहरी निरीक्षक राजीव गिरीले भने । हत्या गरिएकी सञ्चमायाको माइती धनकुटाको साँगुरीगढी गाउँपालिका– ७ हो ।
