त्रिभुवन विश्वविद्यालयले यसपटकदेखि सातै प्रदेशमा दीक्षान्त समारोह आयोजना गर्ने तयारी गरेको छ । तर, समारोहमा सहभागी हुन फारम भर्ने विद्यार्थी संख्या न्यून देखिएको छ । अझ बागमती प्रदेशबाहिर आयोजना हुने समारोहमा दीक्षित हुन चाहने विद्यार्थी अति कम देखिएका छन् ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुका अनुसार यसपटक दीक्षित हुन योग्य (उत्तीर्ण) विद्यार्थी संख्या ९४ हजार ५५४ हो । तर, दीक्षान्त समारोहमा भाग लिन फारम भर्नेको संख्या २१ हजार २७४ मात्रै छ । जसमध्ये बागमती प्रदेशमा आयोजना हुने दीक्षान्त समारोहमा भाग लिन १४ हजार ६९१ जनाले फारम भरेका छन् । यो अन्य प्रदेशको संख्याभन्दा धेरै हो ।
गण्डकी प्रदेशमा दुई हजार २१५, लुम्बिनीमा एक हजार ५५४, कर्णालीमा १५९, मधेशमा ३६४, कोशीमा दुई हजार १० र सुदूरपश्चिममा २८१ जनाले फारम भरेका छन् । अन्य विद्यार्थीले दीक्षान्त समारोहमा भाग लिने रुचि देखाएका छैनन् । दीक्षान्त समारोहमा भाग लिन चर्को शुल्क तिर्नुपर्ने, अत्यधिक भिड हुने, प्रमाणपत्र लिन लामो लाइन बस्नुपर्नेजस्ता कारणले न्यून संख्यामा मात्रै विद्यार्थी समारोहमा आउने गरेका छन् । फारम भरेका अधिकांश विद्यार्थीले साथमा अभिभावकसमेत लिएर आउँदा दीक्षान्त समारोहमा अत्यधिक भिड हुने गरेको छ ।
विगतमा त्रिविले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दीक्षान्त समारोह आयोजना गर्दै आएको थियो । जसका कारण दिनभरि नै त्यस क्षेत्रका सडक अस्तव्यस्त हुने गरेको थियो । सोही कारण यसपटक काठमाडौंको संख्या कम गर्न र विद्यार्थीलाई यहीँ धाउनुपर्ने बाध्यता हटाउन प्रादेशिकस्तरमा दीक्षान्त समारोह आयोजना गर्न लागिएको परीक्षा नियन्त्रक प्राडा लक्ष्मण पौडेलले बताए । ‘सबै विद्यार्थी काठमाडौंमै आउनुपर्ने बाध्यता हटाउन, सहजता प्रदान गर्न, भिड व्यवस्थित गर्न प्रादेशिकस्तरमा पनि दीक्षान्त समारोह आयोजना गर्न लागेका हौँ,’ उनले भने, ‘सुरुमा काठमाडौंमा दीक्षान्त समारोह हुन्छ, त्यसपछि प्रादेशिक स्तरमा हुन्छ । यसपटक मिति अझै तोकेका छैनौँ, पुसको दोस्रो सातासम्म दीक्षान्त गरिसक्ने योजनाअनुसार तयारी गरिरहेका छौँ ।’
दीक्षान्त समारोह प्रादेशिकस्तरमा गर्ने वार्षिक नीति तथा कार्यक्रममै उल्लेख
विद्यार्थी चापका कारण त्रिविले यसपटकदेखि दीक्षान्त समारोह प्रादेशिक रूपमा गर्ने वार्षिक नीति तथा कार्यक्रममै समेटेको थियो । दीक्षान्त समारोहका लागि गत १७ कात्तिकसम्म फारम भर्ने म्याद तोकिएको थियो । यसपटक त्रिविले आफूलाई पायक पर्ने स्थान रोजेर फारम भर्नसमेत अनुरोध गरेको थियो । तर, अधिकांश विद्यार्थीले काठमाडौंमै आयोजना हुने दीक्षान्त समारोहमा भाग लिन फारम भरेका छन् । त्रिविमा हाल पाँच लाख हाराहारी विद्यार्थी छन् । स्नातक तह, स्नातकोत्तर तह, एमफिल र पिएचडी तह गरी हरेक वर्ष एक लाख हाराहारी संख्यामा विद्यार्थी उत्तीर्ण हुन्छन् । तर, समारोहमा सहभागी हुने विद्यार्थी संख्या न्यून देखिने गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा दीक्षान्त समारोह
विगतका वर्षमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुँदै आएको दीक्षान्त समारोह यसपटक त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । यसबारेमा क्यानसँग त्रिविले छलफलसमेत अघि बढाएको छ । त्यस्तै बागमती प्रदेशबाहिर कुन ठाउँमा दीक्षान्त समारोह गर्ने भनेर स्थान तोकिएको छैन । विद्यार्थीलाई पायक पर्ने गरी प्रादेशिक स्थान तय गर्ने परीक्षा नियन्त्रक पौडेलले बताए ।
टपर, एमफिल र पिएचडीका विद्यार्थीको दीक्षान्त काठमाडौंमै
त्रिविले सातै प्रदेशमा दीक्षान्त समारोह गर्ने भने पनि विभाग टपरलाई काठमाडौंमै आयोजना हुने समारोहमा सहभागी गराइने छ । त्यस्तै, एमफिल र पिएचडी तहका विद्यार्थी पनि काठमाडौंबाटै दीक्षित हुनेछन् । उक्त तहको संख्या सीमित हुने भएकाले उनीहरूलाई काठमाडौंमै सहभागी गराउन थालिएको परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक पौडेलले बताए । ‘टपर, एमफिल र पिएचडीको प्रमाणपत्र वितरण काठमाडौंमै हुन्छ,’ उनले भने, ‘सो तहको संख्या कम हुन्छ, सुरुमा काठमाडौंमा दीक्षान्त समारोह भए पनि बल्ल अन्य प्रदेशमा हुन्छ ।’ उनका अनुसार विभाग टपर, एमफिल र पिएचडी उत्तीर्ण विद्यार्थीको नतिजा विवरण सम्बन्धित विभागमा पठाइएको छ । विभागले विद्यार्थीलाई खबर गर्ने र पदक वितरणको तयार गर्नेछन् ।
दीक्षान्त समारोहमा प्रधानमन्त्री उपस्थित नहुने
हाल त्रिविसहित अधिकांश विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नै हुने कानुनी व्यवस्था छ । तर, प्रधानमन्त्री बालेन्द्र शाह कुनै पनि विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भएका छैनन् । उनी त्रिविको समारोहमा पनि सहभागी नहुने सचिवालयले त्रिविलाई स्पष्ट पारेको छ ।
‘प्रधानमन्त्रीज्यू नै आउनुपर्छ भनेर सचिवालयसँग पहल गरिरहेका छौँ, तर उहाँ नआउने बुझिएको छ, त्रिविकै दीक्षान्त समारोहमा प्रधानमन्त्री नआउँदा त्रिविको मर्यादा र कुलपतिको भूमिकामा पनि प्रश्न उठ्न सक्छ,’ त्रिविका एक पदाधिकारीले भने, ‘सहकुलपति शिक्षामन्त्री आउने भनेर खबर आएको छ, अन्य विश्वविद्यालयका दीक्षान्तमा पनि उहाँ नै पुग्नुभएको छ, तर त्रिविको मानका लागि प्रधानमन्त्री आउनु राम्रो हो ।’ विगतमा आयोजना भएका त्रिविको दीक्षान्तमा प्रधानमन्त्री नै सहभागी हुने गरेको परम्परा छ । टपरदेखि एमफिल र पिएचडी उत्तीर्णलाई प्रधानमन्त्रीले नै प्रमाणपत्र वितरण गर्ने चलन छ । तर, उक्त परम्परामा यसपटक ब्रेक लाग्ने देखिएको छ ।
