‘महेन्द्र चौतारी’ मा फोटो खिच्नेको लर्को

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल किनारको मिलिचौरमा अवस्थित ऐतिहासिक ‘महेन्द्र चौतारी’ ६३ वर्षपछि पुनर्निर्माण गरिएको छ । लामो समयसम्म मर्मतसम्भार र संरक्षणको अभावमा जीर्ण बनेको उक्त चौतारी नेपाली सेनाको पहल तथा विभिन्न सरोकारवाला निकायको सहकार्यमा नयाँ स्वरूपमा तयार पारिएको छ ।

रारा राष्ट्रिय निकुञ्जको हुटुमा तैनाथ नेपाली सेनाको हनुमानध्वज गुल्मको विशेष सक्रियतामा चौतारी पुनर्निर्माण गरिएको हो । पुनर्निर्माणपछि उत्तरपश्चिम पृतनाका पृतनापति उपरथी पदमबहादुर बुढाले एक कार्यक्रमबीच नवनिर्मित चौतारीको उद्घाटन गरेका हुन् ।

ऐतिहासिक तथा साहित्यिक महत्व

राराको मिलिचौरस्थित यो चौतारीसँग नेपालको आधुनिक पर्यटन र साहित्यको रोचक इतिहास जोडिएको छ । मुर्मा गाउँका समाजसेवी बिर्खबहादुर रोकायाका अनुसार विक्रम संवत्  २०२० सालमा  राजा महेन्द्र  रारा भ्रमणमा आउँदा मिलिचौरमा आफ्नै नाममा यो चौतारी निर्माण गर्न लगाएका थिए । रोकायाले राजा महेन्द्रले सोही चौतारोमा बसेर राराको अनुपम सुन्दरताबाट मोहित भई ‘हिमालमा नेपाल कहाँबाट झर्यौ तिमी स्वर्गकी अप्सरा रारा’ कविता लेखेका थिए । सोही भ्रमणपछि राराको चर्चा चुलिएको र रारालाई ‘महेन्द्र ताल’ समेत भन्न थालिएको स्थानीयको भनाइ छ ।

संरक्षणमा सेना र स्थानीय व्यवसायी

उनका अनुसार चौतारी पुनर्निर्माण अभियानमा रारा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, डाँफे होटल एण्ड लज, मष्ठो कुल देवता प्रतिष्ठान, स्मार्ट कटेज एण्ड रेष्टुरेन्ट र मनकामना रिसोर्ट लगायतका निकाय तथा पर्यटन व्यवसायीहरूले सहयोग गरेका छन् ।

रारा तालको किनारमा रहेको खुला चौर र मनमोहक दृश्यका कारण मिलिचौर पहिलेदेखि नै पर्यटकको रोजाइमा पर्ने स्थान हो । ऐतिहासिक चौतारीको पुनर्निर्माणसँगै रारा पुग्ने आन्तरिक तथा वाह्य पर्यटकका लागि थप आकर्षण बढेको छ । हाल रारा घुम्न आउने पर्यटकहरूले चौतारीको इतिहास र राजा महेन्द्रसँग जोडिएको प्रसंगबारे चासो राख्दै त्यहाँ बसेर फोटो तथा भिडियो खिच्ने क्रम बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *