काठमाडौंको असन चोकमा नेवार समुदायका ४० भन्दाबढी थरलाई दलित सूचीमा समावेश गर्ने निर्णयको विरोधमा खबरदारी गरिएको छ। नेपाली कांग्रेस काठमाडौं महानगर समितिले कार्यक्रम राखेको हो ।
नेपाल सरकारले राष्ट्रिय दलित आयोगको सिफारिसका आधारमा नेवार समुदायका विभिन्न थरलाई दलित सूचीमा समावेश गरिएको विषयलाई लिएर विरोध गरिएको हो। सहभागीहरूले ऐतिहासिक पहिचान, जातीय अस्तित्व तथा सामाजिक संरचनासँग सम्बन्धित विषयमा पर्याप्त अध्ययन र सरोकारवालासँग परामर्श नगरी निर्णय गरिएकोमा आपत्ति जनाएका हुन् ।
सहभागीहरूले सरकार तथा राष्ट्रिय दलित आयोगको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै विभिन्न नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए । बिना अध्ययन चालिएको कदम खारेज गर, दलित आयोगको गरिमा बचाऊ, हचुवा सिफारिस गर्ने पदाधिकारी हटाऊ, जनताको प्रश्नको जवाफ देऊ, नसके राजीनामा देऊ, ऐतिहासिक तथ्य र पहिचानको सम्मान गर उनीहरुको माग छ ।
राष्ट्रिय दलित आयोगको सिफारिसमा सरकारले गत असोज ८ गते दलित समुदायको परिभाषाअन्तर्ग नेवाः समुदायको थर सूचीकरणसम्बन्धी विवरण नेपाल राजपत्रमा प्रकाशित गरेको थियो। उक्त सूचीमा समावेश नेवाः समुदायका ४० थरबारे विभिन्न समुदाय तथा राजनीतिक तहबाट विरोध र असहमति जनाइएको छ ।
यसबीच राष्ट्रिय दलित आयोगले दलित समुदायको पहिचान, जातीय प्रमाणपत्र तथा थर सूचीकरणसम्बन्धी विषयमा गरेको निर्णय भन्दै धारणा सार्वजनिक गरेको छ । आयोगले दलित समुदायको पहिचान र थर सूचीकरणसम्बन्धी विषय स्पष्ट पार्दै ४० वटा थरबारे प्रष्ट पार्ने कोशिस गरेको देखिन्छ ।
नेपालको संविधानको धारा १८, २४ र ४० तथा जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ ले दलित समुदायको समानता, सम्मान र अधिकार सुनिश्चित गरेको आयोगको दाबी छ । जातीय विभेदका कारण नागरिकता, शैक्षिक प्रमाणपत्र, रोजगारी तथा राज्यबाट प्राप्त हुने विभिन्न सेवासुविधामा समस्या भोग्नुपरेको विषयसमेत उल्लेख छ। विशेषगरी अन्तरजातीय विवाहबाट जन्मिएका सन्तानले नागरिकता प्राप्त गर्दा भोग्नुपरेका कठिनाइलाई पनि आयोगले औंल्याएको छ।
आयोगले कुनै व्यक्ति दलित वा गैरदलित हो भन्ने कुरा थरको सूचीमा नाम समावेश भएको वा नभएको आधारमा मात्रै निर्धारण नहुने स्पष्ट पार्दै यसका लागि वंशगत अवस्था र त्यसको निरन्तरतालाई समेत आधार मान्नुपर्ने भनाइ अगाडि सारेको छ। आयोगले सूचीकरणसम्बन्धी विवरणअन्तर्गत नेवाः समुदायका ४० वटा थर उल्लेख गरेको र नेपाल राजपत्रमा प्रकाशित भएपछि ती थरलाई लिएर विवाद उत्पन्न भएको छ।
विशेषगरी नेवाः समुदायका केही थर दलित सूचीमा समावेश भएपछि विरोधसँगै पुनरावलोकनको माग उठेको हो । पछिल्लो विवादपछि राष्ट्रिय दलित आयोगले विवादित सूची तत्काल स्थगन गर्ने निर्णय गरेको जनाएको छ।
