अन्तरिक्षमा नौ महिना रहदा

अन्तराष्ट्रिय मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट अन्तरिक्षको स्पेस एक्समार्फत नौ महिनाअघि अन्तरिक्ष पुगेका ५९ वर्षीया सुनिता विलियम्स ‘सनी’ र ६४ वर्षीय ब्यारी ई विल्मोर ‘बुच’ ले बुधबार पृथ्वीमा पाइला टेके ।

उनिहरू केवल आठ दिनका लागि अन्तरिक्ष यात्रामा गएका थिए । तर आफू चढेको अन्तरिक्ष यानमा प्राविधिक समस्या आएकाले उनिहरू नौ महिना उतै बस्नु पर्याे । शून्य गुरुत्वाकर्षणको रोमाञ्चक जीवन बाँचेर पृथ्वीमा उनिहरू उत्रेपछिको खुसी अहिले विश्वभर छाएको छ । एक्स ड्र्यागन क्याप्सुल (यान) ले उनिहरूलाई अन्तरिक्षबाट अमेरिकाको फ्लोरिडास्थित समुद्रकै छेउ पानीमा अवतरण गरायो । १७ घण्टा लामो  यात्रापछि धर्तीमा उत्रिँदाको हर्षयुक्त भिडियोहरू यतिबेला हरेकको चासोयुक्त  बनेको छ । आकाशबाट झरेको यान प्यारासुटका साथ समुद्रमा खसेर तैरिरहेको भिडियो सिएनएनले राखेको छ । यसभित्र दुई जना अन्तरिक्षयात्री सकुशल थिए । उक्त यान पानीमा ओर्लिएपछि त्यसको वरिपरि डल्फिनहरूको एउटा समूह भेला भएको थियो ।

यानबाट बाहिरिँदै गर्दा टाउको निकालेर दुवै जनाले आकाशतिर नियाले । बाहिर स्वागत गर्न बसेकाहरूले उत्साहका सात हात हल्लाए । सुनिताले मुस्कुराउँदै हात हल्लाइन र भनिन, “हेलो एभ्रिवन ।” सुरक्षामा खटिएकाहरूले उनिहरूलाई ब्हिलचियरमा राखे र धर्तीको स्पर्श गराउँदै लगे । बुच झन् उत्साही हुँदै उठेरै हिँड्न खोजे तर शरीर लरबर भएपछि अन्य सहयोगीहरूले समातेर ब्हिलचियरमा राखे । उनि  ‘हा हा’ गर्दै रमाउँदै हात हल्लाउँदै बाहिरिए  । दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको खबर नासाले दिएको छ भने अझै केही समय चिकित्सकीय निगरानीमा रहनुहुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विश्वकै लागि रोमाञ्चक यात्रा

सुनिता र बुच गत वर्षको जुन महिनामा अन्तरिक्ष यात्रामा निस्केका थिए ।  यानमा प्राविधिक समस्या आएपछि उनिहरूको अन्तरिक्ष बास लामो भयो । त्यसरी कुनै सामान्य मानिस अन्तरिक्षमा फसेको भए सायद यति लामो समय बाँच्दैनथे होला तर उनिहरूले मानिस हुनुको गुणलाई अन्तरिक्षमा सुझबुझका साथ जीवनोपयोगी बनाए  । अनि आकाशमण्डलको शून्यलाई पनि मानिसको दिमागले नियन्त्रणमा राखेर जीवन जिउन सक्छ भन्ने उदाहरण दिन सफल भए ।

त्यति मात्र हैन, आकाशमा रहेरै आफ्नो नागरिक हकको प्रयोग गर्दै आफ्नो घरपरिवार र सामाजिक जीवनमा सरिक हुनु । गत वर्ष नोभेम्बरमा भएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा अन्तरिक्षबाटै मतदान गरे  । परिवारसँग पनि सम्पर्कमा रहि रहेका थिए ।  सुनिताले अन्तर्वार्ताका क्रममा भनिन , “अन्तरिक्षमा जीवन सहज थिएन तर हामीले कसरी जिउने भन्ने आत्मबलसँगै नयाँ नयाँ उपायहरू अपनायौँ ।” पृथ्वीबाट चार सय किलोमिटरमाथिको शून्यतामा उडिरहेको बेलुन जस्तो जीवनलाई स्थिर बनाउने अनेकौँ अभ्यास गरेको यसअघिको भिडियो अन्तर्वार्तामा पनि उनिहरूले औँल्याएका थिए । ।

बेलुन जस्तो स्पेसयानभित्र उड्दै, गुड्दै अनि तैरिँदै बितेको नौ महिनाको जीवनबाट उनिहरूले मात्र होइन, पृथ्वीमा बस्नेहरूले पनि साहस र धैर्यको पाठ सिकेका छन् । भित्र मात्र होइन, यानबाट बाहिर निस्केर अन्तरिक्षलाई नजिकबाट नियालेर आफ्नो स्पेस यानलाई उनिहरूले मर्मत गर्ने साहस गरे  । त्यस क्रममा स्टेसनको गतिविधि नियन्त्रण गर्ने उपकरणको मर्मत सम्भारसँगै टेलिस्कोपमा प्रकाश फिल्टर र ऊर्जाजन्य एडप्टरहरूमा फेरबदल गर्नेलगायतका कार्य उड्दै गुड्दै गरे  ।

त्यहाँ रहँदा पृथ्वीमा हरेक बिहान मात्र देखिने सूर्योदयलाई दिनकै १६ पटक अवलोकनको अवसर पाए  । जसै उनिहरूको स्पेस स्टेसनले २४ घण्टामा १६ पटक पृथ्वीलाई फन्को लगाउँथ्यो, त्यस क्रममा सूर्योदय र सूर्यास्तका अलौकिक दृश्यहरू देखिन्थ्यो । हरेक ४५ मिनेटमा देखिने दृश्यले पृथ्वीको दिन र रातको गणनालाई नयाँ तरिकाले सोच्ने अवसर प्रदान गरेको उनिहरूको धारणा छ । यसले पृथ्वीको अलौकिक प्रकृतिको सुरक्षा मानवले नै गर्नु पर्छ भन्ने चेत प्रदान गरेको अनुभव उनिहरू को छ ।

अन्तरिक्षमा रहे पनि पृथ्वीबाट गएका सन्देशहरू आफूहरूका लागि प्राण वायुभन्दा प्रिय बनेको अनुभव सुनिताले सुनाउँदै भनिन, “यसले सबैसँग घरमै भएको महसुस गरायो ।” उनिहरूले त्यहाँको वातावरण अनुकूल आफुलाई बनाउँदै लैजानु  । अनपेक्षित घटनाका कारण अन्तरिक्षमा अड्केको जीवनलाई अपेक्षित बनाउन उनिहरूको अनुभवले विश्वलाई सघाएको दृष्टान्त अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । कार्गो स्पेसक्राफ्टमार्फत् उनिहरूलाई समय समयमा अन्तरिक्षमा प्रयोग गरिने खानेकुरा आपूर्ति गरिएको थियो ।

उनिहरूलाई फर्काउन अर्का एक जना अन्तरिक्षयात्री डन पेटिट स्पेस यान लिएर आइतबार अन्तरिक्ष प्रस्थान गरेका थिए । उनिहरूलाई बिदाइ गर्दाका भिडियो र तस्बिर खिचेर पठाए  । सुनिता र बुचले बिदाइका हात हल्लाउँदै अन्तरिक्षबाट धर्तीको यात्रा थालेका थिए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *