रेनकोट ओढेर मध्यरातमा सडक कालोपत्रे

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

असारे झरीमा रेनकोट ओढेर रातको समयमा सडक कालोपत्रे गरिएको छ । गाेर्खा,  भीमसेन थापा गाउँपालिका १ घ्याम्पेसालबाट ताकुकोट जोड्ने सडकको लोकिल बजार खण्डको करिब दुई सय मिटर सडक रातारात झरी परिरहेका बेला कालोपत्रे गरिएको स्थानीय रोशन गुरुङले जानकारी दिए ।

‘बिहीबार राति आठ बजेदेखि साढे १० बजेसम्म झमझम पानी परिरहेका बेलामा रोड पिच गरे’, गुरुङले भने, ‘दिनभरि झरी परेको थियो । चार बजेदेखि पानी परिरहेका बेला पिच गर्न थालेका थिए । स्थानीयवासीले विरोध गरेपछि काम रोके । तर, पछि स्थानीयवासी लाखापाखा लागिसकेपछि रातारात पिच गरे ।’

पानीमा पिच गरेको बारे आफूहरूले योजना कार्यान्वयन गर्ने कार्यालय पूर्वाधार विकास कार्यालयमा खबर गरेका थिए । ‘हामीले फोनबाट कार्यालय प्रमुखलाई खबर पनि गरेका थियौं’, गुरुङले भने, ‘काम रोक्छु भन्नुभयो । तर, काम रोकिएन । हेर्न प्राविधिक पठाउँछु भन्नुभएको थियो । शुक्रबार दिनभर पनि कोही कर्मचारी हेर्न आएनन् ।’

घ्याम्पेसालदेखि पाँचखुवा देउराली हुँदै ताकुकोट जोड्ने सडक कालोपत्रे गर्ने काम एमएस, बिरुवा, वाइबा एन्ड लामा जेभी कम्पनीले गरेको हो । २९ करोड ७७ लाख रुपैयाँ लागतमा यसअघि सबै खण्ड कालोपत्रे गरे पनि लोकिल बजार खण्डको काम विवादका कारण लामो समयदेखि रोकिएको थियो । भुक्तानीको अन्तिम समय पारेर निर्माण कम्पनीले रातारात झरीको पर्वाह नगरी कालोपत्रे गरेको हो ।

पूर्वाधार विकास कार्यालयका प्रमुख गणेश सुवेदीले सो काम गलत भएको भन्दै त्यहाँ काम गरेबापतको रकम भुक्तानी नदिने बताएका छन् । ‘त्यहाँ गलत काम भएको छ । हामीलाई जानकारी नै नदिई त्यहाँ काम गरेका हुन्’, सुवेदीले भने, ‘हामीले त्यो गलत कामको भुक्तानी दिँदैनौं ।’

रातारात झरीमा गरिएको कालोपत्रे शुक्रबार बिहान हेर्दा पानीले बगाएको, उप्किएको भेटिएको रोशन गुरुङको भनाइ छ । यसबारे बुझ्न निर्माण कम्पनीका प्रतिनिधिलाई पटक–पटक टेलिफोन गर्दा सम्पर्क हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *