शहर मोहले रित्तिँदै गाउँः राष्ट्रिय तथ्याङ्क कार्यालय

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नेपालको जनसंख्या गाउँपालिकामा ओरालो र नगरपालिकामा उकालो लाग्ने क्रम तीव्र बन्दै गएको छ । व्यक्तिको शहर मोहले गर्दा गाउँपालिकामा भन्दा नगरपालिकामा जनसंख्या बढ्ने क्रम तीव्र बन्दै गएको हो ।जनसंख्या शहरकेन्द्रित हुँदा गाउँपालिकामा  जनसंख्या रित्तिँदै गएका छन् भने नगरपालिकामा पूर्वाधारले नथेग्ने गरी जनसंख्या भरिने  क्रम तीव्र छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले  सार्वजनिक गरेको नेपालमा सहरीकरण र विकास विषयक प्रतिवेदनमा गाउँपालिकाको तुलनामा नगरपालिकामा जनसंख्या वृद्धि तीव्र भएको देखाएको छ ।

२०६८ सालदेखि २०७८ सालसम्म ग्रामीण (साबिकका गाउँ विकास समिति हालको गाउँपालिका क्षेत्रमा) बसोबास गर्ने जनसंख्या ८२ प्रतिशतबाट घटेर ३३.८ प्रतिशतमा  झरेको छ भने नगरपालिकामा क्षेत्रमा १७.१ प्रतिशतबाट बढेर ६६.२ प्रतिशत पुगेको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख  छ ।

नगरपालिकामा केन्द्रित जनसंख्यामध्ये २६.१ प्रतिशत साना आकारका नगरपालिकामा बसोबास गरिरहेको देखिएको छ । त्यस्तै ५९.४ प्रतिशत जनसंख्या मध्यम आकारको नगरपालिकामा र १४.४ प्रतिशत मात्र महानगरपालिका (काठमाडौँ, पोखरा, भरतपुर, ललितपुर, विराटनगर र वीरगन्ज) मा बसोबास गर्दै आएका छन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता ढुण्डिराज लामिछानेले व्यक्तिको शहरकेन्द्रित मोहले गर्दा गाउँमा जनसंख्या रित्तिँदै गएको र शहरमा भरिने क्रम तीव्र बन्दै गएको बताउदै  असन्तुलित जनसंख्याको वितरणले गर्दा विकास र उत्पादनका प्रक्रियामा असन्तुलन कायम भइरहेको  स्पष्ट पारे  ।

गाउँमा नै जनसंख्या टिकाउनका लागि सरकारले शिक्षा, स्वास्थ्य, रोजगारलगायतका अत्यावश्यक सेवा र पूर्वाधारको व्यवस्था गर्दा मात्र गाउँमा र शहरमा जनसंख्या सन्तुलित हुँदै जाने विश्वास उनकाे छ ।

कार्यक्रममा नेपालमा श्रमशक्ति, आर्थिक क्रियाकलाप र राष्ट्रिय जनगणना २०७८ को सूक्ष्म कोरा तथ्याङ्कको प्रतिवेदन समेत सार्वजनिक गरिएको छ । तथ्याङ्क कार्यालयले कुल २१ वटा विषयगत प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा अहिलेसम्म १६ वटा प्रतिवेदन सार्वजनिक गरिसकेको जनाइएको छ । बाँकी प्रतिवेदन पनि क्रमिक रूपमा सार्वजनिक गर्दै जाने तयारी तथ्याङ्क कार्यालयको छ । कार्यालयले २०७८ सालमा राष्ट्रिय जनगणना सम्पन्न गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *