सरकारले औषधिको मूल्य समायोजन गर्ने तयारी गरेपछि उत्पादक र वितरक विरोधमा उत्रिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गठित औषधि मूल्य नीति सुझाव समितिले ‘राष्ट्रिय अत्यावश्यक औषधि’ को सूचीमा रहेका सबै औषधिको मूल्य तोक्न सिफारिस गरेपछि औषधि उत्पादक संघ, औषधि व्यवसायी संघ, नेपाल आयातकर्ता संघलगायतले विरोध गरेका हुन् । फार्मेसी संघ भने औषधिको मूल्य समयानुकूल बनाउनुपर्ने पक्षमा देखिएको छ ।
औषधिको मूल्य निर्धारणसम्बन्धी दीर्घकालीन नीतिको आधार तयार पार्न, कमीकमजोरी र मूल्य असमानताको समाधान गर्न र औषधिको पहुँचलाई सर्वसुलभ बनाउन स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट डा. पोषराज पाण्डेको संयोजकत्वमा औषधिको मूल्य नीति सुझाव समिति गठन गरेको थियो ।
समितिले २७ जेठमा स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई प्रतिवेदन बुझाएको थियो । त्यसपछि गत शुक्रबार औषधि उत्पादक र वितरकले औषधि व्यवस्था विभागमा कालोपट्टी बाँधेर विरोध जनाएका थिए ।
स्वास्थ्यमन्त्री पौडेलले आइतबार औषधि उत्पादक र वितरकका संघसंस्था सम्मिलित औषधि, स्वास्थ्य सेवा तथा स्वास्थ्य सामग्री सरोकार समितिसँग छलफल गरेका छन् । छलफलमा मन्त्री पौडेलले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि १५ दिनका लागि आन्दोलन स्थगन गरिएको सरोकार समितिले जनाएको छ ।
समितिमा औषधि उत्पादक संघ, औषधि व्यवसायी संघ, नेपाल आयातकर्ता संघलगायत १० संघसंस्था छन् । उत्पादन मूल्यमा ध्यान नदिई सस्तोमा मात्र औषधि बिक्री गर्दा गुणस्तर कमजोर हुन सक्ने उनीहरूको तर्क छ । औषधि उत्पादक संघका अध्यक्ष महेशप्रसाद प्रधानले लागतभन्दा कम पर्ने गरी औषधिको मूल्य समायोजन गर्न लागिएकाले आफूहरूले विरोध गरेको जनाएका छन् ।
डा. पाण्डे नेतृत्वको समितिले औषधि उद्योग र उत्पादित औषधिको प्रकृति र विशेषता, औषधिको उत्पादन तथा आयात र खपतको तथ्यांकको उपलब्धता, औषधि व्यवस्था विभागको संस्थागत क्षमता र दक्षिण एसियाली देशहरूको औषधि मूल्य नियमनको अनुभवका आधारमा मूल्य निर्धारण प्रणाली लागू गर्न सुझाएको छ ।
समितिले यसअघि मूल्य निर्धारण भएका र राष्ट्रिय अत्यावश्यक सूचीका औषधिको अधिकतम खुद्रा मूल्य, मूल्य निर्धारण नभएका आयातित र स्वदेशी उद्योगको उत्पादनका औषधिको मूल्य कायम गर्ने प्रणाली पनि सिफारिस गरेको छ । औषधिको माग, आपूर्ति, मूल्य, आयात निर्यात एवं आपूर्ति शृंखलालगायतको तथ्यांक र सूचना संकलन गर्न स्वास्थ्य मन्त्रालयमा औषधि मूल्य इकाइ स्थापना गर्न पनि समितिको सिफारिस छ ।
समितिले औषधिको मूल्य निर्धारण तथा समायोजनका लागि विज्ञ सम्मिलित कार्यदल गठन गर्न सिफारिस गरेको छ । औषधिको मूल्य निर्धारण तथा समायोजनमा कानुनी, प्राविधिक र संस्थागत कमजोरी बाधक देखिएको समितिले औंल्याएको छ । विभागलाई अधिकार भए पनि कानुन, कार्यविधि र मापदण्डको अभावले कार्यान्वयन हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।
‘मूल्य निर्धारण समितिमा उत्पादकहरूको सहभागिता, पारदर्शिताको कमी, जनविश्वासको अभावले उपभोक्ताको हितभन्दा व्यावसायिक स्वार्थलाई प्राथमिकता दिने जोखिम बढेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘छुट्टै इकाइ र दक्ष जनशक्तिको अभावले गर्दा मूल्य निर्धारण र समायोजनमा अनियमितता र असमानता देखिएको छ ।’ मुद्रास्फीति, विनिमय दरको उतारचढाव, कच्चा पदार्थको मूल्य वृद्धिअनुसार औषधिको मूल्य निर्धारण हुन नसक्दा उद्योग र उपभोक्ता दुवैलाई असर पुगेको समितिले जनाएको छ ।
नेपाल फार्मेसी संघले औषधि तथा स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्य मन्त्रालयले कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । संघका अध्यक्ष युवराज भुसाल र महासचिव सुवर्णराज पन्तले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘औषधि नागरिकको स्वास्थ्य र जीवनसँग जोडिएको संवेदनशील विषय भएकाले यसको मूल्य, गुणस्तर र आपूर्ति प्रणालीमा राज्यको जिम्मेवार, प्रभावकारी भूमिका हुनुपर्छ ।’
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले समितिको प्रतिवेदन आउँदैमा आन्दोलन गर्नु अनुचित भएको टिप्पणी गरे । ‘समितिको प्रतिवेदन अध्ययनकै क्रममा छौं । विज्ञहरूसँग सरसल्लाह गरिरहेका छौं,’ उनले भने, ‘प्रतिवेदन सार्वजनिक नहुँदै आन्दोलनमा उत्रिएको देखेर छक्क परेका छौं ।’
औषधि व्यवस्था विभागले २०६४ मा २२ र २०७३ मा ९६ प्रकारका औषधिको मूल्य तोकेको थियो । त्यसयता औषधिको मूल्यमा समायोजन भएको छैन । औषधि मूल्य परामर्श परिषद्को निर्णयअनुसार २०७५ मा गठन गरिएको समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गरिएको थिएन ।
नेपालमा १ सय २२ औषधि कम्पनीले विभागबाट सिफारिस पत्र लिए पनि ८९ वटाले मात्रै उत्पादन गर्दै आएका छन् । विभागका अनुसार नेपालमा २१ हजार १४ ब्रान्डका औषधि दर्ता छन् । तीमध्ये साढे १२ हजार औषधि स्वदेशमा नै उत्पादन र बाँकी विदेशबाट आयात हुन्छन् ।
सन् २०२३/०२४ मा ४५ अर्बको औषधि आयात भएको अनुमान छ । राष्ट्रिय स्वास्थ्य लेखाअनुसार पछिल्ला वर्षमा औषधि तथा स्वास्थ्य सामग्रीमा ८० अर्बभन्दा बढी खर्च हुने गरेको छ । यसमध्ये आधा हिस्सा स्वदेशी उद्योगले आपूर्ति गर्ने र बाँकी आयातित औषधि तथा सामग्रीमा निर्भर हुनुपर्ने अवस्था छ ।