बोटे समुदायले गरे नदी पूजन

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

बोटे समुदायले वर्षमा एकपटक गर्ने नदी पुजन अर्थात् बड्को बार्ना पूजा यस वर्ष पनि गरेका छन्। साेमवार कावासोती– १५, अमलटारीमा खोलाकिनारमा जम्मा भएर नवलपुरका बोटे समुदायले बड्को बार्ना पूजा गरेका हुन्।

नवलपुरको कावासोती, मध्यविन्दु, देवचुली, गैँडाकोटलगायतका क्षेत्रमा रहेका बोटे समुदाय आज कावासोतीमा जम्मा भएका थिए। उनीहरूले कुखुरा, परेवालगायतको बली चढाएर नदी पूजा गरेका हुन्। नारायणी नदीबाट खोजेर ल्याएको सुन पनि चढाउने चलन छ।

खोला नदीका देवीदेवताले जंगली जीव जनवारहरूबाट संरक्षण गर्ने विश्वासका कारण बोटे समुदायले परम्परागत रूपमा नदी पूजन गर्दै आएका छन्। नदी पूजन कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठको उपस्थितीमा  भएको थियो।

बोटे समुदायमा पुर्खौंदेखि मुखिया छान्ने प्रचलन छ। सोही मुखिया र बोटे समुदायको गुरौंले विधिपूर्वक नदी पूजन (बड्का बार्ना पूजा) गर्ने प्रचलन रहेको छ। नदी पुजनका लागि जिल्लाभरि रहेका बोटे समुदायबाट आर्थिक संकलन गरिएको थियो।

बोटे समुदायका मुखिया कलराम बोटेले आफ्नो समुदायले दिनरात नभनी नदी, जंगल, खोलानाला हिँड्ने गरेका कारण वन्यजन्तु, प्रेतात्मा आदिबाट दुःख नहोस् भनेर पूजा गरेको बताए।

बोटे समुदायले एक वर्ष कुखुरा र परेवाको बली दिएर तथा अर्को वर्ष पाठी र सुंगुरको बलि दिएर पुजा गर्ने गर्छन्। नदी पूजा सकेपछि सबै बोटे एकैठाउँमा जम्मा भएर प्रसाद लिएपछि पूजा सकिने प्रचलन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *