अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्ष : नर्थ र साउथ दुबैतर्फ छुट्टाछुट्टै हिरक महोत्सव मनाईने

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा अन्नपूर्ण हिमालको दुबै क्षेत्रतर्फ छुट्टाछुट्टै हिरक महोत्सव मनाईने भएको छ । फ्रान्सेली पर्वतारोही मौरिस हार्जोग नेतृत्वको टोलीले सन १९५० जुन ३ तारिखका दिन ८ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । ८ हजारभन्दा माथिको हिमालमा पाईला परेको सोहि दिनको सम्झनामा अन्नपूर्ण हिमालको उत्तरी र दक्षिणी मोहडामा दुबैतर्फ छुट्टाछुट्र्ट हिरक महोत्सव मनाउने तयारी गरिएको हो । अन्नपूर्ण हिमालको उत्तरी क्षेत्रलाई नर्थ अन्नपूर्ण र दक्षिणी क्षेत्रलाई साउथ अन्नपूर्ण भन्ने गरिएको छ ।

उत्तरतर्फ नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश, ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकी र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको संयुक्त आयोजनामा नर्थ अन्नपूर्णको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा तथा दक्षिणतर्फ अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजनामा कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा हिरक महोत्सव हुने पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ ।

नर्थ अन्नपूर्णको आधार शिविरमै यहि जेठ १७ गतेदेखि १९ गतेसम्म हिरक महोत्सवको अवसरमा ३ दिन पदयात्रा गरिने जनाइएको छ । पदयात्रामा फ्रान्स, वेलायत, अमेरिका, जापान, ईजराईललगायतका राजदूतसहित नेपालका विशिष्ट व्यक्तिहरुको सहभागिता रहने टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । ‘हामीले १२ देशका राजदूतहरुलाई निमन्त्रण दिएका छौं,उनले भने, ‘केहि देशका राजदूतहरुले आउने वचन दिईसक्नु भएको छ । केहिको प्रत्यूत्तर आउन बाँकी छ ।’

हिरक महोत्सव र पदयात्रामा सहभागि हुन अन्नपूर्ण हिमाल सफलतापूर्वक आरोहण गर्ने पहिलो पर्वतरोही मौरिस हार्जोगका छोरा माथियास इम्यानूयल म्याक्सिमिलियन हार्जोगसहित उनका परिवारका १४ सदस्यीय टोली नेपाल आइपुगेको आचार्यले जानकारी दिए । पदयात्रामा पर्यटन वोर्डको प्रतिनिधिसहित पर्यटन व्यवसायी, पत्रकारलगायतपनि सहभागि हुने उनको भनाई छ ।

हिरक महोत्सवको अवसर पारेर अन्नपूर्ण हिमालको आधार शिविर नारच्याङमा प्रथम आरोही मौरिस हर्जोग तथा उनीसँगै हिमाल आरोहण टोलीका सदस्यहरु लुइस लचेनल र नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको सालिक अनावरण गरिने नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले जानकारी दिए । त्यस्तै, आधार शिविरमा निर्माण भएको खुला संग्रहालय र नारच्याङबाट आधार शिविर जोड्ने पदमार्गलाई नामांकरण गरिएको मौरिस हर्जोग पदमार्गकोसमेत उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए । दुबै कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने उनले जानकारी दिए ।

यसैबीच, हीरक महोत्सवको अवसरमा ३० किलोमिटर लामो म्याराथन दौडपनि हुने भएको छ । हिरक महोत्सवको अवसरमा मे ३ तारिख अर्थात यहि जेठ २० गते अन्नपूर्ण हिमालको आधार शिविरबाट नारच्याङ गाउँसम्म म्याराथन दौड प्रतियोगिता गर्न लागिएको अन्नपूर्ण गाउँपालिका (म्याग्दी)का अध्यक्ष भारतकुमार पुनले बताए । प्रतियोगितामा ६० जना भन्दा बढीले सहभागिता जनाउने उनको दाबी छ । प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ३० हजार र तृतीय हुनेले २० हजार नगदसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने उनले जानकारी दिए ।

त्यस्तै, साउन अन्नपूर्णतर्फ कास्कीको पर्यटकीय गन्तव्य घान्द्रुकमा हिरक महोत्सवसहित अन्नपूर्ण म्याराथन हुने भएको छ । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजनामा कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा अन्नपूर्ण म्याराथनको पाँचौं श्रृङ्खला यहि जेठ २० गते हुने अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष तथा म्याराथन प्रतियोगिता संयोजक ललित गुरुङले जानकारी दिए ।

अन्नपूर्ण हिमाल पदयात्रा मार्गको पूर्वाधार निर्माण प्रयोजनार्थ महिला/पुरुष दुबै विधामा प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक गुरुङले बताए । सबै मौसमका लागि पर्यटन भन्ने नाराका साथ समुन्द्री सतहको ४ हजार १ सय ३० मिटर उचाई भएको अन्नपूर्ण आधार शिविरबाट शुरु हुने म्याराथन माछापुच्छे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु घुर्जुङ, चुइले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला, उरीहुँदै घान्द्रुक आई समापन हुनेगरी रुट  निर्धारण गरिएको उनले जानकारी दिए ।

अल्टिमेट एडभेञ्चर नेपालको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको पुरुष तथा महिला दुबै तर्फको स्पर्धामा प्रथम हुनेलाई १ लाख ५० हजार, द्वितीय हुनेलाई १ लाख, तृतीय हुनेलाई ७५ हजारसहित पदक र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

त्यस्तै, प्रतियोगितामा यसपटक अन्नपूर्ण गाउँपालिका भित्रको स्थायी ठेगाना भएका सहभागीमध्ये प्रथम हुने धावक र गण्डकी प्रदेशका धावकमध्ये प्रथम हुनेले पनि विशेष पुरस्कार पाउने अध्यक्ष गुरुङले जानकारी दिए । महिलातर्फ लगातार तीनपटक म्याराथनमा सहभागिता जनाउने धावकलाई प्रोत्साहन स्वरूप विशेष पुरस्कार दिइने उनले बताए ।

प्रतियोगितामा सहभागि अन्र्तराष्ट्रिय धावकहरुमध्ये महिला र पुरुष दुवै समूहमा विदेशी सहभागीमध्ये प्रथम हुनेलाईपनि विशेष पुरस्कार प्रदान गरिने समितिले जनाएको छ । यसैगरी, ७५ औं अन्नपूर्ण आरोहण दिवसको अवसरमा म्याराथनमा ७५ औं स्थान हासिल गर्ने धावकलाई डायमण्ड जुब्ली अवार्ड  प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

म्याराथनमा सहभागिताका लागि १० विदेशीसहित ६० धावकहरुले नाम दर्ता गरिसकेको जनाइएको छ । नाम दर्ताका लागि ७ हजार शुल्क तोकिएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *