आजबाट फेरि फेवातालमाथि प्याराग्लाइडिङ

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै सराङकोटबाट पश्चिमतर्फ धकेलिएको प्याराग्लाइडिङ पुनः पूर्वतर्फ सरेको छ । नागरिक उड्डयन प्राधिकरणले साविकको अवतरणस्थल खपौदी (इन्ड अफ दी लेक) मा आजबाट अवतरणका लागि अनुमति दिएको हो ।

पहिला सराङकोटबाट प्याराग्लाइडिङ उडान सुरू भएर फेवातालमाथि उड्दै खपौदीमा अवतरण हुन्थ्यो । विमानस्थल सञ्चालनमा आएसँगै सराङकोटबाट उडान (टेकअफ) स्थल ५ किलोमिटर हवाई दूरीमा पश्चिमतर्फ मान्द्रेढुंगामा सरेको थियो । अवतरणस्थल खपौंदीबाट पामेमा सरेको थियो । प्राधिकरणले सुरक्षाको कारण देखाउँदै प्याराग्लाइडिङको उडान र अवतरणस्थल सारेको थियो ।

सराङकोटबाट सरेपछि तालमाथि प्याराग्लाइडिङ नहुने भएकोले उडान भर्नेको संख्यामा भारी गिरावट आएको थियो । गत वर्ष टेकअफ स्थल मान्द्रेढुंगाबाट पूर्वतर्फ तोरीपानीमा सरेपछि व्यवसायीले केही राहत महसुस गरेका थिए । अवतरणस्थल भने पामे नै थियो ।

अवतरणस्थल खपौंदी सरेपछि प्याराग्लाइडिङ व्यवसाय पुरानै लयमा फर्किने व्यवसायीको अपेक्षा छ । प्याराग्लाइडिङको उडान समयसमेत बढाइएको छ । पहिले बिहान ११ बजेदेखि ३ बजेसम्म मात्रै उडान हुने गरेकोमा बिहीबारबाट दिउँसो साढे ४ बजेसम्म उडाउन मिल्ने भएको छ ।

नेपाल हवाई खेलकुद संस्थाका उपाध्यक्ष खेमराज आचार्यका अनुसार विमानस्थल सञ्चालनमा आउनुअघि दैनिक १ हजार पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेकोमा उडान र अवतरणस्थल सरेपछि १ सयजनामा सीमित हुन पुगेको थियो । चार सयको संख्यामा रहेका प्यारा पाइलट घटेर २ सय ५० मा झरेका थिए । ६३ बटम प्याराग्लाइडिङ कम्पनीमध्ये १० वटा विस्थापित भएका थिए । ‘झन्डै २ हजार ५ सयले प्रत्यक्ष रोजगारी पाएको यो क्षेत्र रूग्ण अवस्थामा पुगेको छ,’ उनले भने, ‘अब साविककै स्थलमा अवतरण हुने भएपछि व्यवसाय पनि साविककै अवस्थामा फर्किने आशा छ ।’

संस्थाका अध्यक्ष अनिल केसीले गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, जनप्रतिनिधि र पर्यटन व्यवसायीको सकरात्मक पहलले अवतरण स्थल सर्न सम्भव भएको बताए । ‘प्यारागलाइडिङ विस्थापनको अवस्थामा पुगिसकेको थियो,’ उनले भने, ‘प्राधिकरणको सहयोगले व्यवसाय बच्ने अवस्था आएको छ ।’ प्याराग्लाइडिङ उडान सुरक्षाका लागि दुईतर्फी रेडियो सञ्चार प्रविधि र जीपीएसको प्रयोग गरिएको बताए ।

साविकको स्थलमै उडान अनुमति पाएको अवसरमा हवाई खेलकुद संस्था र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको संयुक्त आयोजनामा  पोखरामा प्याराग्लाइडिङ उडान अभिमुखिकरण तालिम तथा पर्यटन विकासमा प्याराग्लाइडिङको भूमिका विषयक अन्तरक्रिया गरेको छ ।

अन्तरक्रियामा पोखरा महानगर प्रमुख धनराज आचार्यले प्राधिकरणको अनुमतिले प्याराग्लाइडिङ व्यवसाय पुनः व्यवस्थित हुँदा पोखराको अर्थतन्त्रमा सहयोग पुग्ने बताए । उनले महानगरकै पहलमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिँदै प्याराग्लाइडिङ सुरक्षित रहेको सन्देश दिनुपर्नेमा जोड दिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले उडानस्थल साविकको अवस्थामा फर्किनु सुखद् भए पनि एकल (सोलो) उडान पनि खोल्नुपर्ने माग गरे । नवौं राष्ट्रिय खेलकुदका क्रममा प्याराग्लाइडिङ दुर्घटनामा निसिम थापाको निधन भएपछि सोलो उडान बन्द छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *